७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी



काठमाडौं ।

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसअघि उनले रक्षामन्त्री मानवीर राईसँग भेट गनर्नेछन्।

बुधबार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।

त्यसपछि उनले बिहीबार नै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए। उनलाई सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो।

बिहीबारनै द्विवेदीले हनुमानढोकाको अवलोकन गरेका थिए। उनले बुधबार पशुपतिको दर्शन गरेका थिए। सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथको पनि दर्शन गर्ने जनाइएको छ। उनी पाँच दिने नेपाल भ्रमणमा आएका हुन्।

प्रकाशित मिति : ७ मंसिर २०८१ शुक्रबार ००:००  ९ : ३९ बजे