१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

तौलिहवामा नेकपा एसको जिल्ला कार्यालय उद्घाटन



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यालय उद्घाटन गरिएको छ । आइतबार नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणी चौधरीले कार्यालय उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहनु भएका चौधरीले अव युवाहरु मिलेर देशलाई संसारकै एउटा समृद्ध राष्ट्र बनाउने गरी लाग्नुपर्ने बताउनुभयो । चौधरीले नेकपा एकीकृत समाजवादी कमजोर हुने पार्टी नभएको भन्दै आगामी निर्वाचनमा धेरैभन्दा धेरै ठाँउमा चुनाव जित्नेगरी लाग्न पार्टीका सबै कार्यकताहरुलाई निर्देशन दिनुभयो । नेकपा एस लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका चौधरीले केपी ओली प्रधानमन्त्री भएको र उनका मन्त्रीहरुका भ्रष्टचारका काण्डहरु प्रमाणसहित आउदापनि चुइक्क नबोली उनिहरुको संरक्षण तर्फ लागेको आरोप लगाउनुभयो ।

ओली हरेक भ्रष्टचारका काण्डहरुमा मुछिएको भन्दै माधव नेपाल जस्तो स्वच्छ छबि भएका नेतालाई पनि अनैकौ प्रयास गरी भ्रष्टचारजस्तो मुद्धा लाउने प्रयास गरेको बताउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खानले वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको भन्दै आजको गणतन्त्र पुजीवादीको नियन्त्रणमा रहेको बताउनुभयो ।
पुजीवादकै कारण अहिले गरिव, मजदुर तथा किसानले चुनाव लड्न नसक्ने अवस्था आएको भन्दै पुजीवादलाई परास्त गर्दै समाजवाद स्थापना गर्ने काम माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एसले गर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य अहमद अब्दुल रउफ, केन्द्रिय सदस्य मिना परियार, जसपा नेता रदि खान, पूर्व सांसद राम लौटन तिवारी, केन्द्रिय परिषद सल्लाहकार नवाज शाह लगाएतले बोल्दै नेकपा एसले जनताले चाहेको समाजवाद ल्याउने अभियानमा लागेको भन्दै सबै समाजवादी मोर्चा एकजुट हुनुको विकलप नरहेको बताएका थिए । पार्टीका जिल्ला अध्यक्ष फैजल खानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रेमकला पौडेलको स्वागत मन्तब्य तथा सचिव दिपक अनुरागीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा राजेश तिवारी, संजय कुँवर, पिन्टु यादव लगाएत दर्जनबढी युवा पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२ सोमबार ००:००  ९ : ४२ बजे