१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बाणगंगा कार्यपालिका बैठकः दररेट, घरनक्सा, बजेट तालिका र म्याद थप



हरि अधिकारी ।

कपिलवस्तुकाे वाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२।८३ को कार्यपालिकाको प्रथम बैठक आज सम्पन्न भएको छ। गत असारमा स्वीकृत आ.ब. ०८२।८३ को नीति कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका समेत पारित गरेको छ । यसैगरी चालु आर्थिक वर्ष को लागि विभिन्न निर्माण सामग्रीहरू, ढुवानीको नगर दर रेट तय गर्नुका साथै दक्ष तथा अदक्ष कामदारहरुको दैनिक ज्याला दर समेत पारित गरेको हो । साथै बैठकले घर नक्सा कार्यलाई तिव्रता दिन घर नक्सा अध्ययन कार्यदल समेत गठन गरेको छ । जसको संयोजकमा पूर्वाधार समितिका संयोजक तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेल रहेको ५ सदस्यीय कार्यदल गठन गरेको हाे । उक्त कार्यदलले श्रावण महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्ने संयोजक पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
वैठकमा नगरप्रमुख चक्रपाणी अर्यालले नगरको समग्र नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयन गर्दै सुशासनमा जोड दिनुभयो । त्यस्तै वैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरीले विगतको समिक्षा गर्दै नगरको समृद्धि र विकासमा सवैको सहयोग र सहकार्य आवश्कता भएको बताउनुभयो ।
वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाको आर्थिक सामाजिक विकासका सूचकहरुमा गत आ.ब.मा उल्लेखनीय प्रगती हासिल गरेकाले यसको निरन्तरतामा जोड दिदै प्रदेशमै उत्कृष्ट पहिचान कायम राख्न जोड दिनुपर्ने बताउनुभयो । गत आ.ब.मा ठेक्का प्रकृयामा गएका काम सम्पन्न नभएका संघीय बजेट अन्तरगतका योजनाहरुलाई सम्पन्न गर्न नगरपालिकाबाट दायित्व बहन गरी म्याद थप हुने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०८२ सोमबार ००:००  ६ : ४२ बजे