१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

पत्रु खाना (जंक फुड) रहित नगर बनाउने अभियान शुरू



बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका पत्रु खाना जंक फुड’ रहित नगर बनाउने अभियानमा लागेको छ । सोही अनुरुप सोमबार नगरले पत्रु खाना नियन्त्रणका लागि नगरस्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसंग अन्तरक्रिया गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

उहाँले विद्यालयहरुलाई जंक फुड रहित बनाउने कार्यक्रम यसरी अभियानका रुपमा संचालन गर्ने बाणगंगा नगरपालिका देशकै पहिलो पालिका भएको दाबी गर्नुभयो । ‘जंक फुड’ ले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष असर गर्दै स्वास्थ्यमा नकारात्मक प्रभावका पार्ने भएकाले नगरले यस्तो कार्यक्रम प्रभावकारी रुपमा संचालन गरेको उहाँको भनाई छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई पोषणमैत्री नगर घोषणा गर्ने अभियानमा आफुहरु रहेको भन्दै उहाँले त्यसका लागि सुरुमा पत्रु खानारहित नगर निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयहरुमा पत्रु खाना ‘जंक फुड’ निषेध गरेर सुरक्षित बालबालिकाको निर्माण गर्न नगरले चाहेको बताउनुभयो । सामाजिक विकासको क्षेत्रमा नगरले गत आर्थिक बर्षदेखि लगानी बढाएको बताउँदै नगर प्रमुख अर्यालले यसको प्रतिफल १५।२० बर्षपछि देखिने बताउनुभयो ।

उहाँले ‘एक घर एक धारा’ अभियान अन्तर्गत नगरपालिकाले एक सय भन्दा बढी घरमा निशुल्क धारा जडान गरिदिएको बताउनुभयो ।नगरको लगानीमा वडा नं ३ मा ३४ वटा शौचालयहरु निर्माण गरेको जानकारी दिनुभयो । नगरकाे विकास र परिवर्तनमा नगरवासी नै अग्रसर हुनुपर्ने बताउदै उहाँले शिक्षक अभिभावक मिलेर नै पाेषणमैत्री नगर बनाउन सकिने बताउनुभयेा । नगरवासीलाई पूर्ण सुरक्षितयुक्त खानेपानीको पहुँचमा पुर्याउने नगरको लक्ष्य रहेको भन्दै उहाँले हाल करिब १४ हजार घरधुरीमा खानेपानीको धारा पुगेको जानकारी दिनुभयो ।
उपप्रमुख रिता कुमारी चौधरीले भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास मान्न नसकिने भन्दै बाणगंगाको अबको लगानी सामाजिक विकासमा केन्द्रित हुने बताउनुभयो । उहाँले अनुगमनका क्रममा विधार्थीहरुले पत्रु खाना खाने गरेको भेटिएको बताउँदै विद्यालयका शैचालयहरुमा सुर्तीजन्य पदार्थहरु फेला परेको बताउनुभयो । उहाँले विद्यालयबाट १ सय मिटरसम्म रहेका पसलहरुमा पत्रु खाना र सुर्तीजन्य पदार्थ विक्रि वितरण निषेध गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि नगरपालिकाले सुचना नै जारी गरेर अनुगमनलाई तीब्र बनाउने उहाँको भनाई छ । विद्यालय पोसाकका विधार्थीहरुलाई जंक फुड र सुर्तीजन्य पदार्थ विक्रि नगर्न उहाँले पसलहरुलाई आग्रह समेत गर्नुभयो ।

अहिलेका विकसित मुलकहरुले विगत ५०।६० बर्षदेखि बालबालिकामा लगानी गरेकै कारण अहिलेको अवस्थामा आईपुगेको भन्दै उहाँले भन्नुभयो, ‘बाणगंगाका बालबालिकामाथि अब नगरले क्रमश लगानी बढाउँदै जाने छ । यसको उपलब्धि अहिले नै देखिदैन्, केही दशकपछि अवश्य देखिने छ ।’
सामाजिक विकास समितिका संयोजक विष्णु गिरीले बाणगंगालाई पत्रु खानारहित नगर बनाउने अभियानलाई सफल बनाउन विद्यालयका प्रअ र शिक्षकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा प्रार्थना समयमा पत्रु खाना खादाँका बेफाईदा र नखादाँका फाईदा, यस नियन्त्रणमा नगरको रणनितिका बारेमा विशेष कार्यक्रम गर्दा प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार हरि अधिकारीले जंक फुड निषेध गर्न चुनाैती रहेकाे बताउदै शुरूवाती चरणमा विद्यालयमा याे अभियान संचालन गरेर अघि बढ्नुपर्ने बताउनुभयाे । संचार माध्यमले नगरले संचालन गरेकाे पाेषणमैत्री अभियानलाइ साथ दिने अधिकारीले बताउनुभयाे ।
भक्तिराम पाण्डेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बाणगंगाका विद्यालयमा जंक फुड प्रयोगको अवस्था, यसको नियन्त्रणको उपाय, आगामी रणनिति लगायतका बारेमा प्रस्तुतिकरण राखेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८२ सोमबार ००:००  ९ : २१ बजे