लखनउ ।
नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन्। सिद्धार्थनगरबाट आठ जना र महाराजगन्ज जिल्लाको सोनौली सीमा नजिकबाट चार जना पक्राउ परेका हुन्।
सिद्धार्थनगरमा पक्राउ परेकामध्ये पाँच जना भारतीय र तीन जना नेपाली नागरिक छन्। नेपाली कैदीहरूमा हरिलाल र सुरज चौधरी रहेका छन्, जो यौन हिंसा र लागुऔषधसम्बन्धी अपराधमा जेल परेका थिए। भारतीय नागरिकहरू चोरी र लागुऔषध नियन्त्रण ऐन अन्तर्गतका अपराधमा संलग्न थिए।
नेपालमा जारी हिंसात्मक प्रदर्शन र ठूलो सङ्ख्यामा भएका जेल ब्रेकका घटनापछि भारत(नेपाल सीमामा सुरक्षा जाँच कडा पारिएको छ। प्रहरी उपरीक्षक अभिषेक महाजनका अनुसार, ती फरार व्यक्तिहरूलाई खुनवा र अलिगढवा सीमा नाकाबाट नियन्त्रणमा लिइएको हो।
सशस्त्र सीमा बल (एसएसबी) का डीआईजी मुन्ना सिंहले नेपाली अपराधीहरूलाई भारतमा कुनै पनि हालतमा आश्रय नदिइने बताउँदै पक्राउ परेकाहरूलाई सम्बन्धित निकायमा बुझाइएको पुष्टि गरे।
सोनौली नजिकैबाट पक्राउ परेका अन्य चार जनामा सम्भलका राजपाल सिंह र बाराबन्कीका मोनू कश्यप पनि छन्। प्रहरी उपरीक्षक सोमन्द्र मीनाका अनुसार जेलबाट भाग्नुको कारण र सीमा पार गर्ने प्रयासको मनसायबारे थप अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया