१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

भैरहवामा शान्ति र सद्भाव र्‍याली



रुपन्देही ।
रुपन्देहीको भैरहवामा शान्ति र सद्भाव र्‍याली भएको छ । शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले विभिन्न सङ्घ–संस्थाको आयोजनामा र्‍याली गरिएको हो ।

अहिले देशमा भइरहेको ‘जेन–जी’ आन्दोलन र उत्पन्न अवस्थापछि शान्ति कायम गर्न र्‍यालीमार्फत आह्वान गरिएको छ । बेलहियाको नेपाल–भारत सिमानाबाट शुरू भएको र्‍याली बुद्धचोकमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा ‘जेन–जी’ पुस्ताका सागर ज्ञवालीले देश नयाँ पुस्ता र व्यवस्थामा गइसकेकाले आन्दोलन र तोडफोड भएको क्षेत्रमा अब पुनर्निर्माणतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिले बजार चलायमान बनाउन शान्ति अपरिहार्य रहेकाले शान्तिपूर्वक बजार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

र्‍यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही, चेम्बर अफ कमर्श, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थ होटल सङ्घ, भैरहवा मर्निङवाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालीलगायत संस्थाको सहभागिता थियो ।

प्रकाशित मिति : २७ भदौ २०८२ शुक्रबार ००:००  २ : ४३ बजे