१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

पैरवी परियोजनाले अर्गानिक कृषि उत्पादन र प्रयोगमा जोड्दै



दिपा महत, विजयनगर ।

अन्धेरी हिल्फे र कालिका स्वालम्वन सामाजिक केन्द्रद्धारा संचालित खाद्य सुरक्षामा सामाजिक रुपान्तरणका लागि पैरवी परियोजना अन्तरगत संचालित कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । विपन्न तथा पिछडा वर्गका महिलाको पोषण सुधारका लागि संचालित परियोजनाबाट वास्तविक कृषक लाभान्वित हुनेगरी काम गर्न जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले आग्रह गर्नुभयो ।
उहाँले कालिकाले गरेका कामबारे आफु जानकार रहेको भन्दै कालिकाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ग्रामिण स्तरका कृषकलाई प्रत्यक्ष लाभ मिल्ने गरी दीर्घकालिन योजनाको साथ काम गर्न पनि आर्चायले आग्रह गर्नुभयो ।
कृषकको पोषण सुधारसंगै उनिहरुलाई ब्यवसाय तर्फ जोड्नेगरी कार्यक्रम गर्न सुझाव दिनुभयो । ‘कृषकको पोषण सुधार आवश्यक हो यसका साथै उनिहरुलाई आयआर्जनमा जोड्न आवश्यक छ पछिल्लो समय कुरिलो, ड्रागन खेती, मरिंगा खेतीमा सम्भावना देखिएकाले यसको ब्यवसायिक खेती तर्फ कृषकलाई तालिम दिनुपर्ने देखिएको छ यसबाट कृषकको पोषणमा सुधार आउनुका साथै आयअर्जन तर्फ जोड्न मद्दत गर्ने छ प्रमुअ आचार्यले भन्नुभयो ।’
विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले सामाजिक काममा अग्रसर कालिकाले विजयनगरमा संचालन गरेको पैरवी परियोजनाबाट यहाँका विपन्न वर्गसंगै केहि भूमिहिन कृषक लाभान्वित भएको बताउनुभयो । थापाले परियोजनाले लिएको लक्ष्य अनुरुपनै काम भएको भन्दै पोषण सम्बन्धी चेतना बढाउनु पनि ठूलो कुरा रहेको बताउनुभयो । पालिकाले प्रदान गर्ने विभिन्न स्वास्थय, शिक्षा लगाएतका सेवा बारे स्थानीय जानकार नहुँदा समस्या हुने गरेको भन्दै यस्ता कार्यक्रम संगै पालिकाबाट जनताले प्राप्तगर्ने सेवाबारे जानकारी गराउन आग्रह गर्नुभयो ।
यस्तै विजयनगरका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले गैर सरकारी संस्थाहरु संग सामाजिक शसक्तीकरणको पाटो उत्कृष्ट रहने गरेको भन्दै विजयनगरमा विभिन्न गैरसरकारी संस्थाहरुले काम गर्दै आएको बताउनुभयो । पछिल्लो समय पालिका गैरसरकारी संस्थाहरुको हब बनेको उल्लेख गर्दै प्रमुख रिजालले परियोजनाबाट संचालित कार्यक्रमबाट स्थानीय लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरी, गैर सरकारी महासंघका अध्यक्ष जय प्रकाश चौधरी लगाएतले बोल्दै कालिकाले सरकारले गर्नुपर्ने काम गरेको भन्दै परियोजना अन्तरगत कार्यक्रम गर्दा दीर्घकालिन योजनाका साथ काम गरेमा यसबाट कृषक लाभान्वित हुने बताएका थिए । साथै पालिकाको कृषि शाखा संगै सहकार्य समन्वय गरेमा सहज हुने बताएका थिए । अनुगमनका क्रममा सरोकारवालबाट आएका सल्लाह सुझावलाई मनन गर्दै सोही अनुरुप कार्यक्रम गर्ने कालिका स्वालम्वन केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताउनुभयो । कालिकाले समाज रुपान्तरण संगै स्थानीयको जीवनयापन, उनिहरुको पोषण स्वास्थय, शिक्षा तथा रोजगारी लगाएतका क्षेत्रमा काम गर्दै आएको भन्दै यस्ता कामलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वयका अध्यक्ष बाबुराम आचार्य, समन्वय जिल्ला अधिकारी जनार्दन अधिकारी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाल, कृषि ज्ञान केन्द्रका प्रमुख, गैरसरकारी महासंघका अध्यक्ष, नेपाल पत्रकार महासंघका उपाध्यक्ष कालिका स्वावलम्बन सामाजिक केन्द्र समितिका पदाधिकारी, कर्मचारी लगायतकाे उपस्थिति थियोे ।
खाद्य सुरक्षामा सामाजिक रुपान्तरणका लागि परियोजना अन्तरगत जिल्लाको विजयनगर गाँउपालिकाका ७ वटै वडामा महिला समुह गठन गरी पोषण सुधारका लागि अर्गानिक तरकारी उत्पादनमा जोड दिइएको छ । परियोजनाले विपन्न तथा पिछडा वर्गका महिलाको पोषण सुधारका लागि अर्गानिक तरकारी उत्पादनमा जोड दिनुका साथै, विउपल वितरण, स्थानीय स्तरमा पाइने खाद्य वस्तुबाट पोषिलो खाना बनाउन सिकाउने, प्राङगारिक मल उत्पादन र प्रयोगबारे सामुहिक जानकारी गराइएको सामुदायिक शसक्तीकरण सहजकर्ता दिपक भण्डारीले जानकारी गराउनुभयो । परियोजना अन्तरगत विजयनगरका ७ वटै वडामा गरी ३५ वटा महिला समुह गठन गरि काम गरिएको छ । यसबाट साना किसान एक हजार र ५० जना भूमिहिन गरी १ हजार ५० परिवार लाभान्वित भएको भण्डारीले बताउनुभयो ।
समुहमा आवद्ध महिलाले परियोजनाबाट प्राप्त विउपलले उत्पादन गरेका विभिन्न तरकारीहरु घरमा खाने गरेको र विक्रि वितरण गर्दै आएको बताएका थिए । जर्लैया कृषक महिला समुहका अध्यक्ष सकुन्तला कोरीले आफुहरुले भिन्डी, करेला, लौका खुर्सानी तथा सिजनल तरकारी उत्पादन गरी विक्री वितरण समेत गर्दै आएको बताउनुभयो । तरकारीमा आफुहरुले घरमै बनाएको प्राङगारिक मल प्रयोग गर्दै आएको भन्दै अर्गानिक खाद्यन्नमा जोड दिने बताउनुभयो ।

प्रकाशित मिति : ३१ भदौ २०८२ मंगलबार ००:००  ९ : २९ बजे