मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस र नेकपा एमाले कपिलवस्तुले यहि भदौ २३ र २४ गते जेन्जीको आन्दोलनका क्रममा कपिलवस्तुमा पनि घुसपैठ भएको बताएको छ । नेपाली कांगेसका सभापति अब्दुल कलाम र एमाले अध्यक्ष बाबुराम खनालले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनमा घुसपैठ गरी देशभर सरकारी कार्यालय, व्यापारिक केन्द्र, राजनीतिक दलका कार्यालय, संघसंस्था र नीजि निवासमा तोडफोड र आगजनी गरेको बताएको हो ।
सामाजिक संजालको स्वतन्त्र उपयोग, भ्रष्ट्रचार विरुद्धको आवाज र सुशासनको माग गर्दै जेन्जी युवाहरुले गरेको आन्दोलनमा घुसपैठ भई ठूलो धनजनको क्षती भएको जनाइएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘ भाद्र २४ गते कपिलवस्तु जिल्लामा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, कांग्रेस नेता दिपकुमार उपाध्याय, सांसद सुरेन्द्र राज आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव), एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोखरेल, प्रदेश कमिटी सदस्य डम्मर शर्मा, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ र वाणगंगा नगरपालिका उपप्रमुख रिता थारुको घर आगजनी र तोडफोड भएकोमा वैठकले घोर भत्र्सना र निन्दा गर्दछ ।’
‘देशैभरी भएका आगजनी तोडफोड, हिंसा तथा लुटपाटको घटनाले खरबौ मूल्य बराबरको सरकारी, सार्वजनिक तथा नीजि सम्पत्ति ध्वस्त हुनुका साथै हजारौं कैदी बन्दीहरु जेल तोडफोड, आगजनी गरी भाग्नु, राजनीतिक दलका कार्यालय, नेता तथा कार्यकर्ताहरु माथि आक्रमण हुनु, निर्दोश नागरिकको हत्या हुनु जस्ता अमानवीय घटत्ताले शान्ति सुरक्षामा खलल पुगेको छ संयुक्त विज्ञप्तीमा भनिएको छ ।’
यस्ता आपराधिक कृयाकलापमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनको कटघरामा ल्याउनका लागि राज्य संग आग्रह गरेको छ ।
आन्दोलनको नाममा विभिन्न समूह, व्यक्तिले जनप्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई डर धम्की दिई पदबाट राजीनामा दिन लगाएकोमा, तत्कालै राजिनामा फिर्ता लिई जनताको काममा खटिन आग्रह गरेको छ ।
साथै २०८२ को संविधान दिवस यही असोज ३ गते सबै पालिकाहरुका राजनितिक दलहरुको आव्हानमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय समेत गरिएकोले विषम परिस्थितिमा कोही पनि विचलित नभई, एकतावद्ध र आगामी दिनमा आशावादी भएर अघि बढ्न आग्रह गर्दछौ, जारी विज्ञप्तीमा भनिएको छ ।
यसका साथै आवश्यक थप सुरक्षा ब्यवस्था प्रभावकारी ढंगले अगाडी बढाउन सुरक्षा निकायहरुलाई आग्रह गर्दै आन्दोलनमा घाइते भई उपचारमा रहेकाहरुको पूर्ण निशुल्क स्वास्थ्य उपचारका लागि सरकार संग माग गरिएको छ ।







प्रतिक्रिया