८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपतिलाई पक्राउ गरेको विषयमा चीन, रुससहितका देशको विरोध



एजेन्सी ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोसल मदुरोका दम्पतीलाई पक्राउ गरेको विषयमा अमेरिकाको चर्को विरोध भएको छ । विशेषगरी ल्याटिन अमेरिकी देशहरू र अमेरिकाका विरोधी देशहरूबाट कडा आलोचना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको विदेश मन्त्रालयले अमेरिकी हस्तक्षेपलाई शक्तिको स्पष्ट दुरुपयोग भन्दै निन्दा गरेको छ । अमेरिकी बर्चस्ववादी कार्यले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमसत्तालाई गम्भीर रूपमा उल्लङ्घन गरेको चीनको भनाइ छ । रुसले आक्रमणको निन्दा गर्दै अमेरिकाले भेनेजुएलाको सार्वभौमसत्तामा अस्वीकार्य आक्रमण गरेको बताएको छ । दुवै देशले तत्काल मुदुरोको रिहा गर्न माग गरेका छन् । क्युबाले अमेरिकी कार्यलाई राज्य आतङ्कवाद भन्दै तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ । यी तीन देशले मुदुरो नेतृत्वको सरकारलाई सघाउँदै आएका थिए ।

भेनेजुएलाका सहयोगी देशबाहेक ल्याटिन अमेरिकी देशहरू ब्राजिल, मेक्सिको, कोलम्बिया, चिली र निकारागुवाले पनि अमेरिकी कदमको चर्को विरोध गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको खतरनाक उदाहरण भनेको छ । युरोपेली सङ्घले भेनेजुएलामा मदुरो सरकारको वैधानिकता नभए पनि स्वतन्त्र देशको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने बताएको छ । यस्तै प्रशावशाली अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि भेनेजुएलामा आक्रमणको विषयमा अमेरिकाको विरोध गरेका छन् ।

अमेरिकाले न्यायिक कारबाही भने पनि अमेरिकी संस्थापन पक्षकै प्रभावशाली अखबार न्युयोर्क टाइम्सले खुलेर विरोध गरेको छ । सम्पादकीय नै लेखेर यसलाई अवैध र अविवेकी कदम भन्दै न्युयोर्क टाइम्सले अमेरिकामा नयाँ द्वन्द्व निम्त्याउने चेतावनी दिएको छ ।

चीन, रुस, इरान र टर्कीका सञ्चारमाध्यमले यसलाई अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन र जङ्गल राजको संज्ञा दिएका छन् ।

अमेरिकाले महिनौँको तयारीपछि हिजो मध्यरातमा भेनेजुएलामा आक्रमण गरि राष्ट्रपति दम्पतीलाई पक्राउ गरेर अमेरिका पुर्‍याएको हो । अमेरिकाले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । रोड्रिगेज मदुरोकै सहयात्री हुनुहुन्छ । उहाँले आक्रमणको कडा शब्दा निन्दा गर्नुभएको छ ।

प्रकाशित मिति : २० पुस २०८२ आइतबार ००:००  ८ : ३२ बजे