बेलायत ।
बेलायतमा आजदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फूडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न विश्वकै अग्रणी कार्य भनेर दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयले चिल्लो पदार्थ र नुन वा चिनी उच्च मात्रामा प्रयोग भएका उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै प्रतिबन्ध लागू गरेको हो । मिल्कशेक, रेडी–टु–गो कफी र मीठो दही पनि प्रतिबन्धमा परेका छन् ।
अब रातिको ९ बजेभन्दा अघि यस्तो विज्ञापन बजाउन वा अनलाइनमा देखाउन पाइँदैन । विज्ञापनले बच्चाहरूलाई प्रभावित पारि कम उमेरदेखि नै जङ्क फूड खान प्रेरित गर्ने र यसले मोटोपना तथा मोटोपनासँग सम्बन्धित रोगहरूको जोखिम बढाउने सरकारको तर्क छ ।
विज्ञापनहरू बन्द गरेकै कारण मोटोपनासँग बाँचिरहेका बच्चाहरूको सङ्ख्या २० हजारले घटाउन सक्ने मन्त्रालयको विश्वास छ । यस्तै सरकारले स्थानीय अधिकारीहरूलाई विद्यालय नजिक स्थापना हुने फास्ट फूड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ ।
बेलायतमा जङ्क फूडको कारण बालबालिकामा मोटोपना र दाँतसम्बन्धी समस्या बढेको अध्ययनबाटै पुष्टि भएको छ । ओबेसिटी हेल्थ एलायन्सका कार्यकारी निर्देशक क्याथरिन जेनरले यो कदम बच्चाहरूको स्वास्थ्यलाई हानि पुर्याउने खाना र पेय पदार्थको विज्ञापनबाट संरक्षण गर्ने दिशामा स्वागतयोग्य र लामो समयदेखि प्रतीक्षा गरिएको विषय भएको बताउनुभएको छ ।







प्रतिक्रिया