३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

महाराजगंज नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न



मायादेवी अनलाइन, महाराजगंज ।

महाराजगंज नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार वडा नम्बर ९ मा सम्पन्न भएको छ । कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा नगरपालिकाले गरेका गतिविधि तथा प्रगति विवरण सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा सहभागी नागरिकका जिज्ञासाको सम्बोधन गर्दै नगर प्रमुख अब्दुल कलामले नागरिकबाट प्राप्त सुझावअनुसार नै विकास निर्माणका काम अघि बढाइने बताउनुभयो । उहाँले पहिलो कार्यकालदेखि नै नगरलाई किचडमुक्त बनाउने अभियान सञ्चालन गरिएको र जनसहयोगका कारण हालसम्म ९० प्रतिशत क्षेत्र किचडमुक्त बनाइएको दाबी गर्नुभयो ।

महाराजगंज नगरपालिकाले अन्य पालिकाको तुलनामा कम बजेट प्राप्त गर्ने गरे पनि अति आवश्यक सडकलाई प्राथमिकताका आधारमा निर्माण गरिएको नगर प्रमुख कलामले बताउनुभयो । नगर अस्पतालको निर्माण कार्य सम्पन्न भइसकेको र छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिँदै उहाँले नगरका १०० प्रतिशत नागरिक कृषक रहेकाले कृषिलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिने स्पष्ट पार्नुभयो । सबै समस्या एकैपटक समाधान गर्न नसकिए पनि प्राथमिकताका आधारमा समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले जेन्जी आन्दोलन लगायतका कारण ठूला योजनाको काम अपेक्षाअनुसार अघि बढ्न नसकेको बताउनुभयो । उहाँका अनुसार हालसम्म पूँजीगत तर्फ २ प्रतिशत र चालु तर्फ १० प्रतिशत बजेट खर्च भएको छ । वडा नम्बर ५, ७ र ९ मा घुम्ती शिविर सञ्चालन गरी नागरिकलाई घरदैलोमै सेवा प्रदान गरिएको, शिक्षकहरूलाई तालिम दिइएको तथा २८ वटा योजनाको टेण्डर प्रक्रिया सम्पन्न भएकाले अब छिट्टै काम सुरु हुने जानकारी दिनुभयो ।

रेग्मीले केही स्थानीयले घरमा निर्माण गरिएका शौचालय प्रयोग नगर्नु चेतनाको कमीका कारण भएको उल्लेख गर्नुभयो । प्रत्येक वडामा समानुपातिक रूपमा कार्यक्रम सञ्चालन गरिएको र वडाबाट छनोट भएका योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिएको उहाँको भनाइ थियो । शिक्षाको गुणस्तर सुधारका लागि पालिका, शिक्षक र अभिभावकको सक्रिय भूमिका आवश्यक रहेको पनि उहाँले जोड दिनुभयो ।

वडा नम्बर ९ का वडा अध्यक्ष फरिद मुसल्वानले प्रत्येक टोलबाट योजना संकलन गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सेवाप्रवाहमा भएका कमजोरी सुधार गर्दै जाने र समस्या समाधानका लागि पहल गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीले कृषकलाई समयमै मलको व्यवस्था गर्नुपर्ने, शिक्षाको गुणस्तर सुधार गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने, सरसफाइ तथा स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गर्नुपर्ने, सडक तथा भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने सुझाव राखेका थिए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले अघिल्लो समयको तुलनामा नगरमा विकास निर्माणका काम सुधारोन्मुख रहेको बताउनुभयो । विकास निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै सबैको सहकार्यबाट नगरलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाईँको स्वागत मन्तव्य रहेको थियो भने सचिव सनिउल्ला धोबीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । महासंघकी उपाध्यक्ष दिपा महतले नागरिक तथा बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ पुस २०८२ मंगलबार ००:००  ८ : ०८ बजे