बाबुराम रायमाझी, भलवाड ।
वाणगंगा नगरपालिका–९, जिनुवामा अवस्थित शुद्धोद्धान माध्यमिक विद्यालयले आर्थिक वर्ष ०८१/०८२ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अवस्थाबारे सरोकारवालालाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कौलेश्वर मिश्राले विद्यालयको हालको भौतिक अवस्था, शैक्षिक उपलब्धि तथा आगामी दिनमा अवलम्बन गरिने रणनीतिबारे विस्तृत जानकारी गराउनु भएको थियो । उहाले गुणस्तरीय शिक्षामा जोड दिँदै विद्यालयको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको थियो ।
त्यस्तै, विद्यालयका शिक्षक एकनारायण पौडेलले आर्थिक वर्ष ०८१र०८२ मा विद्यालयले सञ्चालन गरेको करिब १ करोड ४९ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता र उत्तरदायित्वप्रति विद्यालय प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख रोशन घिमिरेले विद्यालयको वास्तविक गहना विद्यार्थी नै भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको थियो ।उहाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितका लागि काम गर्न सके मात्र विद्यालयले अपेक्षित प्रगति गर्न सक्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा समाजसेवी नारायण खनाल, धुर्बबहादुर रायमाझी, पूर्व वडा अध्यक्ष धुर्ब बेल्बासे, सामाजिक परीक्षण समिति सदस्य भुवनेश्वर पौडेल लगायत वक्ताहरूले आ–आफ्नो धारणा राख्दै विद्यालयको शैक्षिक उन्नति तथा निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
विद्यालयका सामाजिक परीक्षण समिति संयोजक तथा वडा अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक विष्णु प्रसाद बेल्बासेको सहजीकरणमा सम्पन्न भएको थियो।
वि।सं। २०२८ सालमा स्थापना भएको शुद्धोद्धान माध्यमिक विद्यालय हाल कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ। विद्यालयले समुदायसँग सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।







प्रतिक्रिया