१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी



बाँके ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगञ्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उहाँकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट नागरिकता प्रदान गरिएको हो । नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको गोडीयाले बताउनुभयो ।

‘१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु, विसं २०८० मा काठमाण्डाैमा सम्पन्न अन्तरनगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ, तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्‍याे’, उहाँले भन्नुभयो । नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसुस भएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानूनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हक अधिकार सुनिश्चित गर्न प्रशासन पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ । कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाइ छ । रासस

प्रकाशित मिति : २४ पुस २०८२ बिहिबार ००:००  ७ : ०४ बजे