एजेन्सी ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सरकार विरोधी प्रदर्शनकारीहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न खोज्नेहरु रहेका आरोप लगाउनुभएको छ । उहाँले यसले थप समस्या निम्त्याउने बताउनुभएको छ ।
इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई एउटा पत्र पनि पठाएको छ । जसमा अमेरिकाले इरानमा प्रदर्शनलाई व्यापक तोडफोडमा परिणत गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । मानव अधिकारवादी समूहका अनुसार दुई हप्तादेखिको सरकार विरोधी प्रदर्शनमा अहिलेसम्म कम्तीमा ४८ जना प्रदर्शनकारी र १४ सुरक्षाकर्मी मारिएका छन् ।
देशका ३१ वटै प्रान्तका एक सय भन्दा धेरै शहर र बस्तीमा आन्दोलन फैलिएको छ । दुई हप्तादेखि चलिरहेको सरकार विरोधी प्रदर्शन थप चर्किएपछि तेहरानसहित प्रमुख शहरमा इन्टरनेट र टेलिफोन सेवा समेत बन्द गरिएको छ ।
प्रदर्शनकारीले आर्थिक सुधारसँगै राजनीतिक स्वतन्त्रताको माग गरिरहेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको, बेरोजगारी बढेको, सर्वोच्च नेता खामेनीले सत्ता छोड्नुपर्ने, पूर्वराजा शाह मोहम्मदका निर्वासनमा रहेका छोरा रेजा पह्लवीलाई सत्तामा फर्काउनु पर्नेलगायतका मागसहित नागरिकहरूले प्रदर्शन गर्दै आएका हुन् । यो प्रदर्शनलाई विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको छ ।
युवराज पह्लवीले नागरिकको आवाज दबाउने प्रयास गरिएको भन्दै युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानी शासनलाई जवाफदेही बनाउन आग्रह समेत गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी सुरक्षाबल वा सरकारले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका नागरिकमाथि अत्यधिक बल प्रयोग वा दमन गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।







प्रतिक्रिया