कपिलवस्तु ।
जीर्ण बनेको कपिलवस्तुको बुद्धभुमी नगरपालिको बिजगौरी– बुढ्ढी सडक अन्तरगत बिजगौरी देखि सडक निर्माण सुरु भएको छ । तौलिहवा देखि बिजगौरी हुँदै बुढ्ढी सम्मको सडक जीर्ण बनेको अवस्थामा सोही सडकको बिजगौरीदेखि उत्तर १४ सय मिटर सडक निर्माण १० दिन देखि थालिएको छ ।

पहिलो चरण अन्तरगत सडक डिभिजन कपिलवस्तुको २ करोड २४ लाखमा अक्सफाल्ट प्रबिधि अनुसार सडकले निर्माण सुरु भएको हो । ईन्द्रेणी गंगा जेभीले आगामी असार भित्र सकाउने गरी कामको सुरुवात गरिएको निर्माण कम्पनीका सदस्य थानेश्वर घिमिरेले बताए । अहिले सो खण्डमा सब बेसको काम लगभग सकिएको छ ।
सब बेस पछि बेस र त्यस पछि अक्सफाल्ट प्रबिधिले सडक निर्माण गरिने छ । कम्पनीका सदस्य घिमिरेले मौसम र समयले साथ दिए फागनु भित्रै सो सडक निर्माण सकिने गरी काम अघि बढाइएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० का सदस्य संदीप पाण्डेयले जीर्ण सडक निर्माण कार्य तीब्र गतिमा भएको बताए ।
उनले निर्माण कम्पनीले तीब्र र गुणस्तरीय काम गरकोले स्थानीयबासी खुशी भएको बताए । २०६० सालमा तत्कालीन जिबिसमा संचालित ग्रामीण सडक पुर्वाधर परियोजना र स्थानीय श्रमदान गरी १० करोड लागतमा तौलिहवा बिजगौरी बुुढ्ढी खण्डको २१ किलो मिटर सडक निर्माण गरिएको थियो ।
दुई दशक हुदा समेत सडक मर्मत नभए पछि जीर्ण बनेको छ । बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सो सडकलाई नगरपालिकाले गौरवको योजनामा राखेको बताए । उनले सो सडककालागि शहरी विकास मन्त्रालयबाट ६ करोड, भौतिक विकास मन्त्रालयबाट ३ करोड र नगरपालिकाको साढे १० करोड गरी कुल साढे १९ करोड बजेट बिनियोजन भई ठेक्का संझौता भई काम अघि बढेको उनले बताए । सोही सडक खण्डमा नगरपालिकाको साढे १० करोडबाट साढे ४ किलो मिटर, शहरी विकास मन्त्रालयको बजेटबाट २६ सय मिटर सडक निर्माण सुरु भएको बताए । बिजगौरी देखि बुढ्ढी सम्मको नौ किलो मिटर यसै आर्थिक बर्षमा निर्माण हुने उनले बताए । उता बुढ्ढीको उत्तर तर्फ शहरी विकास मन्त्रालयको ३ करोड लागतमा ४ सय मिटर सडक पक्की गर्ने काम समेत सुरु भएको छ ।







प्रतिक्रिया