१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दै



बुटवल ।

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । सातौं अधिवेशनको पहिलो बैठक मंसिर ८ गते बसेको थियो । त्यसयता नबसेको दोस्रो बैठक आज बस्न लागेको हो ।

लुम्बिनी प्रदेश सभाका कानुन उपसचिव एवं प्रवक्ता लोकमणि पाण्डेका अनुसार प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठकका लागि प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलाराम घर्ती मगरले सभालाई गराउने, प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने र मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलका लागि सभामा पेश गर्ने र सैद्धान्तिक छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

कार्य व्यवस्था समितिको बैठक ११ बजे प्रदेश सभा सचिवालयमै बस्दै छ । बैठकले अन्तिम कार्यसूची तय गर्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए । पहिलो बैठकपछि विभिन्न जातजातीका चाडपर्व, राजनीतिक दलका अधिवेशन एवं अन्य राजनीतिक गतिविधि र राष्ट्रिय सभाको निर्वाचनलाईसमेत भएकाले लामो समय बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । अबको बैठक नियमित चल्ने सभामुख घर्ती मगरले बताए ।

लुम्बिनी प्रदेश सभाको चार जना सदस्यले राजीनामा दिएर प्रतिनिधि सभाको उमेदवार बनेका छन् । दाङ ३(२) बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बाँके १(१) बाट निर्वाचित कृष्णा केसी, बर्दिया २(२)बाट निर्वाचित नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र रूपन्देही ४(१)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बाँनियाले प्रदेश सभा छोडेर प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । चार पद रिक्त भएपछि ८७ सदस्यीय प्रदेश सभा अहिले ८३ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : १३ माघ २०८२ मंगलबार ००:००  ११ : ०० बजे