पश्चिम नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासी प्रशासनले सुरक्षा व्यवस्थालाई अत्यन्तै सुदृढ बनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले ’एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि जिल्लाभर मतदान केन्द्र ९७ वटा, मतदान स्थल १२२ वटा र मतदान कक्ष २९७ वटा तय गरिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार, निर्वाचनको तयारी भइरहेको छ । उहाँले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूबिच उच्च समन्वय कायम गरिएको बताउनुभयो ।
निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् भने दोस्रो र तेस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले गस्ती गर्नेछन् । जिल्लामा सुरक्षाका लागि ८ सयभन्दा बढी नेपाल प्रहरी, एक हजार पाँच सय भन्दा बढी म्यादी प्रहरी, आवश्यकता अनुसार सशस्त्र प्रहरी बल र नेपाली सेनाको विशेष टुकडी रहने छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, मतदाताले सुरक्षित रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति–संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ । ती क्षेत्रहरूमा सुरक्षा आवश्यकता अनुसार थप जनशक्ति परिचालन गरिनेछ ।
सीमा नाकाहरूमा कडाइ गरिएको छ भने निर्वाचन विरोधी गतिविधि रोक्न सादा पोसाकका प्रहरी र ’क्विक रेस्पोन्स टिम’ लाई समेत सक्रिय बनाइएको छ । “शान्तिपूर्ण र सुरक्षित निर्वाचनका लागि सबै तयारी पूरा भएको छ,’’ स्थानीय प्रशासनले जनाएको छ ।







प्रतिक्रिया