२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

थालेसिमियाका बिरामीले भेरी अस्पतालबाट एक लाखको उपचार खर्च पाउने



नेपालगन्ज । सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपियाँ बराबरको उपचार खर्च पाउने भएका छन्।

सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममा सो सुविधा समेटेसँगै थालेसिमियाका बिरामीले पनि एक लाख बराबरको औषधी उपचार खर्च पाउने भएका हुन् । यसअघि थालेसिमियाका बिरामीले सरकारी सुविधा पाएका थिएनन् ।

सिकलसेल तथा थालेसिमिया रोग विज्ञसमेत रहनुभएका भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले थालेसेमियाका बिरामीले पनि अब भेरी अस्पतालबाटै शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, प्रयोगशाला लगायतमा उक्त सुविधा प्राप्त गर्ने बताउनुभयो ।

उहाँका अनुसार मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सेवा पाउँदै आएकोमा अबदेखि थालेसिमियाका बिरामीलाई पनि एक लाख रुपियाँसम्मको उपचार सहयोग पाउने भएपछि उनीहरूलाई ठुलो राहत मिल्ने भएको छ ।

सिभियर एप्लास्टिक एनेमिया, प्यारोक्सिस्मल नक्टर्नल हेमोग्लोबिन्युरिया, सिम्प्टोमेटिक हेमोग्लोबिनोपाथिजका बिरामीले पनि यो सुविधा पाउने भेरी अस्पताललले जनाएको छ । भेरी अस्पतालमा थालेसिमियाका करिब १०० जना बिरामी फलोअपमा रहेको जनाउँदै अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले सरकारी सेवा पाउने भएपछि थालेसिमियाका बिरामीको एकिन गर्न सहज हुने बताउनुभयो । उहाँले सिकलसेलका एक हजार २०० बिरामी भेरी अस्पतालमा नियमित फलोअपमा रहेको पनि बताउनुभयो । 

प्रकाशित मिति : २० माघ २०८२ मंगलबार ००:००  २ : ५९ बजे