काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा अन्तिम चरणमा पुगेको बताएको छ । नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको थियो ।
समितिमा नेता देव गुरुङ, प्रमेश हमाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, राजेन्द्र श्रेष्ठ शक्ति बस्नेत लगायत २५ जना रहेका छन् । मस्यौदा अन्तिम चरणमा पुगेकाले केही दिनमा सार्वजनिक गर्ने समितिका सदस्य हमालले जानकारी दिए ।
‘घोषणा पत्रको मस्यौदा बनिसकेको छ । केही विषय मिलाउन बाँकी छ । एक हप्ताभित्रमा सार्वजनिक गर्छौँ’, रातोपाटीसँग उनले भने । घोषणा पत्रमा समुदायमा आधारित समाजवाद, सुशासन, रोजगारी, पर्यटन र उत्पादनमा केन्द्रित रहेर तयार गरिएको हमालले जानकारी दिए ।
घोषणापत्रबारे उनले भने, ‘समुदायमा आधारित समाजवादसम्बन्धी कार्यक्रमलाई घोषणा पत्रमा समेटेका छौँ । विशेष गरी सुशासन, रोजगारी, पर्यटन र उत्पादनमा केन्द्रित रहेर नै आउनेछ । जेनजी विद्रोहको भावनालाई समेट्ने गरी अन्तिम रूप दिने तयारी भइरहेको छ ।’
संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक अन्तरवार्तामा सुशासन, उत्पादन र रोजगारीमा केन्द्रित भएर घोषणा पत्र आउने बताएका थिए ।
‘मूल कुरो सुशासन, उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित भएर आउँछ । सुशासन, उत्पादन र रोजगारीमा केन्द्रित भएर आउँछ । किनकि भ्रष्टाचार विरुद्धको अभियान हाम्रो अभियान हो । उत्पादन वृद्धि र रोजगारी सृष्टिको अभियान हाम्रो अभियान हो । नेपाली युवाहरूलाई देशभित्रै बस्ने वातावरण बनाउने र बिदेसिएका युवाहरूलाई पनि स्वदेश फर्काउने उद्देश्यका साथ आउँछ’, उनले भनेका थिए ।
प्रचण्डले समुदायमा आधारित समाजवादको निर्माण कसरी गर्ने ? कृषिमा आधुनिकता कसरी ल्याउने ? ऊर्जा क्षेत्रमा क्रान्ति कसरी गर्ने ? पर्यटन विकासका निम्ति स्थानीय स्तरबाट नै पूर्वाधार विकास कसरी गर्ने ? भौतिक पूर्वाधार विकासमा तीव्रता र गति कसरी दिने ? अन्तर्राष्ट्रिय सम्बन्ध कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
मस्यौदा समितिका अर्का सदस्य राजेन्द्र श्रेष्ठले जेनजीहरूको मागलाई सम्बोधान गर्ने गरी घोषणा पत्र तयार पारिएको जानकारी दिए । अन्तिम रूप दिनका लागि संयोजक प्रचण्डकोमा पठाइएको र स्वीकृत भएपछि सार्वजनिक गर्ने तयारी गरिएको श्रेष्ठले बताए ।
‘विगतको भन्दा जोड कोणमा यस पटक फरक छ । जेनजी आन्दोलनले उठाएका माग र मुद्दालाई सम्बोधन गर्नेगरी लेखिएको छ । जेनजीको माग हाम्रो पार्टीले पहिलेदेखि नै उठाउँदै आएका हौँ’, उनले भने, ‘संविधान बनेकै बेलामा पनि पहिचानको मुद्दा, कार्यकारी निर्वाचित राष्ट्रपति र समावेशीको विषयमा ‘नोट अफ डिसेन्ट’ राखेका थियौँ । त्यसकारण जेनजीको असल अभिभावक हामी हौँ । त्यसै अनुसार घोषणापत्र तयार भएको छ ।’







प्रतिक्रिया