तानसेन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको मुख्य प्रश्न चुनाव कसले जित्ने भन्नेभन्दा पनि देशलाई कसले गाँस्न सक्छ भन्ने महत्त्वपूर्ण रहेको बताउनुभएको छ । पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि देशको भविष्यप्रति चिन्ता गर्नुपर्ने बताउनुभएको हो ।
जिल्लाका उम्मेदवारसमेत सहभागी भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वि.सं. २०८४ मा हुनुपर्ने चुनाव किन २०८२ मै हुँदै छ । किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जड कारण पहिचान गरेर देशलाई कसले सही ढङ्गले समन्वय गर्न सक्छ भन्ने नै मुख्य कुरा हो । भविष्यमा ‘जेनजी’ पछिको पुस्ता ‘अल्फा’ ले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व कोसँग छ ? मूल प्रश्न यो हो ।”
उहाँले चुनावी जितहारपछि पनि मिलेर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्ने बताउनुभयो । देश कसले हाँक्ने भन्ने दाबी गरिरहँदा ‘देश गाँस्ने’ मूल मन्त्रलाई बिर्सन नहुने उहाँको भनाइ थियो ।
चुनावी मैदानमा रहेका कुनै पनि दल वा प्रतिस्पर्धी उम्मेदवारलाई कांग्रेसले दुस्मन नमान्ने प्रस्ट पार्दै उपसभापति शर्माले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “आलोचना गर्दा स्वस्थ ढङ्गले गरिने छ तर कसैलाई पनि गाली गरिने छैन । देशभरका हाम्रा उम्मेदवार साथीहरूलाई पार्टीको यो नीतिअनुरूप प्रस्तुत हुन आग्रह गर्दछु ।”







प्रतिक्रिया