३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँः प्रचण्ड



रुकुम पूर्व । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुथा उत्तरगङ्गा गाउँपालिका–६, मयाङमा भेटघाट गर्नुभएको छ ।

जनतासँगको भेटघाटका क्रममा उहाँले विगतमा जनयुद्धका क्रममा गरिएको सङ्घर्षलाई स्मरण गर्दै यस पटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताउनुभयो । “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाईंहरूको माझमा उम्मेदवार बनेर आएको छु । मतदान गरी विजयी गराउनुहोला,” उहाँले भन्नुभयो ।

उहाँले स्वाधीन र समृद्ध नेपाल निर्माण गर्नु नै पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताउनुभयो । “म स्वाधीन र समृद्ध नेपाल निर्माणका लागि स्पष्ट दृष्टिकोण (भिजन) लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ,” उहाँले भन्नुभयो  ।

कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो । सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए । 

प्रकाशित मिति : ३ फाल्गुन २०८२ आइतबार ००:००  ६ : ०९ बजे