काठमाण्डौ ।
अमेरिका–इजरायल र इरानबीचको युद्धले खाडीका देशमा रहेका नेपाली कामदारलाई सुरक्षाको चिन्ता बढाएको छ । जुन–जुन देशमा अमेरिकी सैन्य क्याम्प छन्, ती सबैजसो ठाउँमा इरानले जवाफी आक्रमण गरिरहेको छ ।
खाडीका देश साउदी, कतार, कुवेत, यूएई, बहराइन, ओमानलगायतमा झन्डै १९ लाख नेपाली कार्यरत रहेको तथ्याङ्क छ । ती देशका विमानस्थल, आवासीय भवन, होटल, तेलखानी जस्ता महत्त्वपूर्ण क्षेत्रमा भइरहेको आक्रमणले असुरक्षित भएको त्यहाँ रहेका कतिपय श्रमिकले बताएका छन् ।
तत्काल युद्ध नरोकिए अवस्था अझै कठिन बन्न सक्छ । परराष्ट्र मन्त्रालयले खाडी देशको परिस्थितिप्रति निरन्तर अनुगमन भइरहेको जनाएको छ । यस्तो अवस्थामा आफ्नो सुरक्षामा पहिलो प्राथमिकता राख्न श्रम तथा द्वन्द्व व्यवस्थापनका विज्ञ मीना पौडेलको सुझाव छ । आफू जोगिने, आफ्ना साथी र सम्बन्धित दूतावाससँग निरन्तर सम्पर्कमा रहन उहाँको सल्लाह छ ।
विज्ञ पौडेलका अनुसार स्थानीय सरकार र कार्यक्षेत्रका नियम तथा दूतावासले निकालेका सूचनाको पालना गर्नु महत्त्वपूर्ण हुन्छ । आफू रहेको देशको कानूनबारे जानकार रहने, रोजगारदाता र कार्यस्थलको नीति नियम पालना गर्ने, आफूलाई थाहा भएका कुरा साथीहरुलाई पनि भन्ने, नेपालमा रहेका आफ्नो परिवार र आफन्तसँग पनि निरन्तर सम्पर्कमा बस्ने, सामाजिक सञ्जालमा आएका हल्लाको विश्वास नगर्ने तथा केही अप्ठारो परेमा सम्बन्धित दूतावासमा जानकारी गराउनुपर्ने श्रम तथा द्वन्द्व व्यवस्थापनका विज्ञ पौडेलले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयले पनि सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आह्वान गरेको छ । मन्त्रालयले सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्न र परराष्ट्र मन्त्रालय वा सम्बन्धित देशमा रहेका नेपाली दुतावासहरुमा नियमित सम्पर्कमा रहन भनेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले पनि स्थानीय कानून पालना गर्न र सुरक्षा निर्देशन मान्न आग्रह गरेका छन् । द्वन्द्व प्रभावित देशमा रहेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने सरकारले निर्णय गरेको छ ।







प्रतिक्रिया