२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

बाणगंगा कार्यपालिकाको बैठकः निर्वाचित सांसदलाई बधाई



बाबुराम रायमाझी, बाणगंगा ।

वाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ। नगरप्रमुखको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित माननीय सांसद मोहनलाल आचार्य सहित देशभरबाट निर्वाचित सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ।

बैठकले निर्वाचन प्रक्रियामा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा आम मतदाताहरूको योगदानको प्रशंसा गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ।
बैठकमा अघिल्लो कार्यपालिकाले गरेका विभिन्न निर्णयहरूको कार्य प्रगतिको समीक्षा गरिएको थियो। समीक्षा क्रममा अधिकांश निर्णयहरू सन्तोषजनक ढंगले कार्यान्वयन भएको निष्कर्ष निकालिएको जनाइएको छ।
यसैगरी चालु आर्थिक वर्षभित्र सञ्चालन हुने योजना तथा कार्यक्रमहरूलाई तीव्र गतिमा कार्यान्वयन गर्दै वैशाख मसान्तसम्म अधिकांश योजनाहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ।

खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले आगामी चैत्र १२ गतेदेखि बुद्ध रंगशालामा सातौँ मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। त्यसैगरी चैत्र १३ गतेदेखि दोस्रो उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता पनि सञ्चालन गरिनेछ।
नगरपालिकाले जनताको गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले चैत्र ८ गते बिहान ११ बजे वडा नम्बर १ स्थित उद्योग वाणिज्य संघको सभा हलमा नगरस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
त्यसैगरी सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले चैत्र २७ गते वडा नम्बर १० को मेचकुरीमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिइएको छ।

नगरपालिकाले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ आगामी कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२ मंगलबार ००:००  ६ : ५२ बजे