कपिलवस्तु ।
कपिलवस्तुका छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार राति पानै ११ बजेतिर यशोधरा गाउँपालिकाको वसन्तपुर– पुन्हिवा सडक खण्डमा सेमराहवा चोकदेखि वसन्तपुरतर्फ जाँदै गरेको लु २४ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
दुर्घटनामा यशोधरा गाउपालिका वडा नम्बर १ तितिर्खीका ४२ वर्षीय रम कुमार चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। घाइते चौधरीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
यस्तै तौलिहवा– बहादुरगन्ज सडक खण्ड अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर ३ गनबरियामा युपी ४७ एएल ४८२२ नम्बरको बुलेट बाइक दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका वडा नम्बर १ बढैयाका २५ वर्षीय विनय चौधरीको मृत्यु भएको हो।
गम्भीर घाइते चौधरीलाई भैरहवाको मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा राति साढे नौ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा गम्भीर घाइते भएकी २८ बर्षिया पुष्पा चौधरीको मेडिकल कलेजमा उपचार भईरहेको छ।
यसैगरी तौलिहवा– गोरुसिंगे सडकखण्डमा तौलिहवाबाट गोरुसिंगे जाँदै गरेको लु ९७ प ०९४६ नम्बरको मोटरसाइकललाई हरिणले झुक्काउँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
घटनामा मोटरसाइकलको पछाडी सिटमा बसेका यशोधरा गाउपालिका वडा नम्बर ४ का ६५ वर्षीय गोमती प्रसाद यादवको रुपन्देही स्थित क्रिमन्सन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षीय गिरीजेश कुमार पाण्डेय घाइते भएको र उनको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया