४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

नैतिक जिम्मेवारी लिँदै एमालेको तानसेन र सबै वडा कमिटी विघटन



कपिलवस्तु । चुनावमा आफ्नो उम्मेदारको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ । मंगलबार बसेको निर्वाचन समीक्षा बैठकमा नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरिएको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए ।

२०७९ को समानुपातिकमा एमालेको ९ हजार भोट आएकोमा योपटक ४ हजारमा घटेको छ । यस नगरमा १ नगर कमिटी, १४ वडा कमिटी र ७२ टोल कमिटी गठन गरिएको थियो । कार्यकर्ताको रोजाइ र भावनाअनुसार चुस्तदुरुस्त कमिटी बनाउन साबिकको कमिटी विघटन गरिएको अध्यक्ष आत्रेयले बताए ।

‘मैले नैतिकताको हिसाबले आफैँले राजीनामाको तयारी गरेको थिएँ । तर, सबै साथीहरूले सबैको नैतिक जिम्मेवारी रहेकाले सबै कमिटी नै विघटन गरी नयाँ ढंगले जान सुझाएकाले यो प्रकृयामा गएका हौँ’ उनले भने ।

बैठकले २०८३ जेठ ३ गते मदन आश्रित स्मृति दिवसको दिन नगरको अधिवेशन गर्ने र ३ महिनाभित्र सबै वडा कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ । बैठकमा पराजय भोगेका एमाले नेता ठाकुर गैरे पनि सहभागी थिए । असहज अवस्थामा विशेष जिम्मेवारी पूरा गरेका सबैलाई धन्यवाद दिँदै अब नयाँ तरिकाले अघि बढ्नुपर्ने उनले सुझाए ।

गैरेले जनताको मन र मत दुवै जित्ने गरी काम गर्न आवश्यक रहेको बताउँदै सेवामा निरन्तर लाग्नुपर्नेमा जोड दिए । नगरमा रहेका केन्द्र, प्रदेश र जिल्लास्तरका नेताहरू, नगर कमिटी उपाध्यक्ष शशी श्रेष्ठ, सचिव महेशलाल शाक्यलगायतले बोलेका थिए।

प्रकाशित मिति : ४ चैत्र २०८२ बुधबार ००:००  ८ : ०० बजे