१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

हिजो पक्राउ परेका ओली र लेखकलाई आज अदालत लगिँदै



काठमाण्डौ । 

हिजो बिहान पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाण्डौ जिल्ला अदालत लगिँदैछ । दुवै नेतालाई हिजो प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । तर हिजो शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन । 

आज ओली र लेखक दुवैलाई अदालत खुल्नासाथै उपस्थित गराउने तयारी छ । गएको भदौ २३ र २४ गते भएको नवयुवाबाट गरिएको आन्दोलन र क्षतिबारे घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो । 

शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । हिजै ओली र लेखकको स्वास्थ्य परीक्षण गरिएको थियो । ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । पूर्वगृहमन्त्री लेखकलाई दुई नम्बर गणमा राखिएको छ । 

एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । 

एमालेले हिजो देशभर विरोध प्रदर्शन गरेको थियो । आज पनि विरोधका विभिन्न कार्यक्रम तय गरेको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ । आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग समन्वय गरेर थप कार्यक्रम अघि बढाइने उल्लेख छ ।

एमाले अध्यक्ष ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री लेखकको पक्राउविरुद्ध कांग्रेसका दुई वटा पक्षका फरक-फरक विज्ञप्ति आएका छन् । शेरबहादुर देउवा पक्षले प्रतिशोध साँध्न पूर्वाग्रही ढंगले ओली र लेखकलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । तर, विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगन थापा पक्षधरले भने ओली र लेखकको नाम उच्चारण नगरी उत्तेजना र आवेगमा काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले चाल्ने कदमहरू न्यायपूर्ण हुनुपर्ने र त्यसले राजनीतिक प्रतिशोधको रुप लिन नहुनेमा सचेत गराएको छ । 

प्रकाशित मिति : १५ चैत्र २०८२ आइतबार ००:००  ७ : ४७ बजे