२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद नथप्न परमादेश



काठमाडौँ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

अदालतले अब उनीहरूको म्याद भने नथप्न परमादेशसमेत जारी गरेको अदालतका सूचना अधिकारी  निराजन पाण्डेले थाहाखबरलाई जानकारी  दिए।

ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गर्दै सर्वोच्चले २६ चैत (बिहीवार) भित्र अनुसन्धान टुंग्याएर मुद्दा चल्ने भए चलाउन नत्र थुनामुक्त गरी अनुसन्धान अघि बढाउन भनेको छ ।

आदेशमा भनिएको छ, ‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु/गराउनु भनी परमादेश जारी गरिएको छ ।’ 

भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा चैतमा १४ गते ओली र लेखक पक्राउ परेका थिए। प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौँको अनुमतिमा थुनामा राख्दै आएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८२ सोमबार ००:००  ९ : ०८ बजे