दाङ ।
फूलमाया चौधरीको जीवनमा यस्ता धेरै पीडादायी सम्झनाहरू छन्, जसले बेलाबेला उहाँलाई झस्काइरहन्छन् । तर कहिलेकाहीँ जीवनमा यस्ता मोडहरू पनि आउँछन्, जसले ती पीडा भुलाउन मद्दत गर्छन् । आर्थिक अभावले पिरोलिएकी फूलमायाको जीवनमा व्यावसायिक तरकारी खेती परिवर्तनको एउटा महत्त्वपूर्ण मोड बनेर आयो । छोरालाई पढाउनसमेत ऋण लिनुपरेको अवस्था सम्झँदा लमही नगरपालिका–२ सोनपुरकी फूलमाया चौधरी अझै भावुक बन्नुहुन्छ । एकातिर छोराको शिक्षाको चिन्ता, अर्कोतिर ऋण कसरी तिर्ने भन्ने दबाबले उहाँलाई रातदिन सताइरहन्थ्यो ।
तर समयसँगै उहाँको जीवनमा परिवर्तन आयो । ग्रामीण महिला उत्थान केन्द्रले हेफर इन्टरनेशनलको सहयोगमा सञ्चालन गरेको आईएएलभीसी परियोजनाअन्तर्गत कृषक व्यवसाय पाठशालामा सहभागी भएपछि उहाँमा नयाँ उत्साह जाग्यो । तालिमपछि व्यावसायिक तरकारी खेती गर्ने अठोट व्यक्त गरेपछि संस्थाले उहाँलाई बीउबिजन, टनेल तथा प्राविधिक सहयोग उपलब्ध गरायो । त्यसपछि उहाँले पाँच कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती सुरु गर्नुभयो ।
सुरुमा टमाटर खेतीबाटै राम्रो आम्दानी लिन सफल भएको उहाँ बताउनुहुन्छ । “एक सिजनमै ८० हजार रुपियाँको टमाटर बेच्दा आफैँलाई अपत्यारिलो लाग्यो,” उहाँले भन्नुभयो, “त्यसपछि अरू तरकारी पनि थप्दै गएँ ।”
अहिले उहाँले बेसिजन काउली, बन्दागोभी, बोडी, करेला, काँक्रा र खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । निरन्तर परिश्रम र संस्थाको प्राविधिक सहयोगका कारण तरकारी खेतीले राम्रो साथ दिएको उहाँको भनाइ छ । यही आम्दानीबाट उहाँले छोराको पढाइका लागि लिएको साढे तीन लाख रुपियाँ ऋणसमेत तिर्न सफल हुनुभएको छ । साथै, श्रीमान् ज्ञानबहादुर चौधरीलाई वैदेशिक रोजगारीमा पठाउन र घरको भान्साघर निर्माण गर्न पनि सफल हुनुभएको छ ।
तरकारी खेतीमा देखिने समस्या समाधानका लागि उहाँलाई संस्थाको सहयोग निरन्तर मिलिरहेको छ । “बालीमा रोग लागे वा किराले सताए भने म संस्थाका प्राविधिकलाई फोन गर्छु,” उहाँले भन्नुभयो, “उहाँहरू आएर हेरेपछि सल्लाहअनुसार झोलमोल प्रयोग गर्छु ।” संस्थाले कृषक व्यवसाय पाठशाला, डेमोप्लट तथा बजार व्यवस्थापनमा गरेको सहयोगले आफूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरेको उहाँको भनाइ छ । “पहिले घरमै खाने तरकारी मात्र लगाउँथेँ, तर सही तरिका थाहा थिएन,” उहाँ भन्नुहुन्छ, “पाँच दिने तालिमपछि खेती धेरै सजिलो भयो ।”
उहाँ अहिले प्रविधिको प्रयोगमार्फत खेती गर्दै आउनुभएको छ र वार्षिक करिब दुई लाख रुपैयाँसम्म बचत गर्न सफल हुनुभएको छ । उहाँका छोरा अहिले होटल व्यवस्थापन विषय अध्ययनरत छन् । “पहिले छोरालाई कसरी पढाउने भन्ने चिन्ता थियो, अहिले आफ्नै कमाइले ढुक्कसँग पढाउन सक्छु भन्ने विश्वास आएको छ,” उहाँले भन्नुभयो ।
यसअघि बजार अभावका कारण बिहानै तीन बजे उठेर लमही बजार पुगेर दिनभर डुल्दै तरकारी बेच्नुपर्ने बाध्यता थियो । अहिले भने गाउँमै स्थापना भएको ‘समुन्नति तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र’ले उत्पादन खरिद गर्न थालेपछि बजार समस्या समाधान भएको छ । “अब बारीबाट तरकारी टिप्ने र केन्द्रमा लगेर दिने मात्र काम हुन्छ,” उहाँले बताउनुभयो ।
ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीका अनुसार आईएएलभीसी परियोजनाले किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख गराउँदै झोलमोल प्रयोग, प्राविधिक सीप, गड्यौला मल उत्पादन तथा बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ । “यसले उत्पादन वृद्धि मात्र होइन, ग्रामीण क्षेत्रका किसानहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ,” उहाँले भन्नुभयो ।







प्रतिक्रिया