काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६२/६३ को जनआन्दोलन, माओवादी र मधेस आन्दोलनले स्थापित गरेको उपलब्धिहरू खण्डित नहुने गरी संविधान संशोधन गरिनुपर्ने छन्।
मधेस प्रदेशको बर्दिबासमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै शर्माले संविधान निर्माणमा सहभागी दलहरूको भावना समेट्नुपर्नेमा जोड दिए ।
‘२०६२/६३ को आन्दोलन, माओवादी विद्रोह र मधेस आन्दोलन लगायतले स्थापित गरेका उपलब्धिहरू खण्डित हुनुहुन्न’, शर्माले भने, ‘त्यसबेला संविधानसभामा रहेका तर अहिले प्रतिनिधिसभामा नरहेका मधेस केन्द्रित दलहरूको भावना समेत जोड्न सक्नुपर्छ ।’
यसैगरी पार्टीभित्रको विवादबारे बोल्दै उनले इगोको चस्मा उतारेर हेर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । शर्माले वडामा क्रियाशील सदस्यता अद्यावधिक गर्न केन्द्रीय सभापति गगन थापा पुग्ने नभई वडा सभापतिले नै गर्ने स्पष्ट पारे । नेतृत्वले आफू पक्षलाई मात्रै जिम्मेवारी दिएर अगाडि बढे पार्टी कमजोर हुने उनले बताए।
‘नेतृत्वले हिजो आफूसँग सहमतहरूलाई मात्रै जिम्मेवारी दिँदै अघि बढेमा पार्टी कमजोर हुने र विभाजनलाई बल पुग्ने हुन्छ । तर विशेष महाधिवेशनको विपक्षमा रहेका कयौँ साथीलाई केन्द्रमा, संसदीय दलमा र भ्रातृ संस्थाहरूमा ल्याइएको छ । यद्यपि ६०/४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो’, शर्माले भने।






प्रतिक्रिया