वाणगंगा, कपिलवस्तु ।
वाणगंगा नदीमा ठेक्का लागेको समयमा समेत नदीजन्य पदार्थ बालुवा, गिट्टी, ढुंगा को अवैध चोरी निकासी रोकिएको छैन। तर, नगर प्रहरीको सक्रियताका कारण चालु आर्थिक वर्षमा मात्रै अवैध रूपमा नदीजन्य पदार्थ ओसार्ने २६ वटा ट्याक्टर नियन्त्रणमा लिई लाखौँ रुपैयाँ राजस्व संकलन गरिएको छ।
वाणगंगा नगरपालिकाका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार गत साउन महिनादेखि २०८३ वैशाख मसान्तसम्म २६ वटा ट्याक्टरलाई कारबाही गरी १३ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो। आर्थिक वर्ष सकिन एक महिना बाँकी छँदै गत वर्षको तुलनामा यस वर्ष बढी राजस्व संकलन भएको घिमिरेले जानकारी दिनुभयो। नगरपालिकाले नदीजन्य पदार्थको अवैध ओसारपसार रोक्न रात्रिकालीन गस्तीलाई तीव्र पारेको छ। वाणगंगा नदीका विभिन्न नाकाहरू, मधुवन, नन्दनगर, बालापुर, नहरबाँध ओशो धाम, सिसेनी, धनेशपुर र चौरीगाउँ लगाएतका यी क्षेत्रहरूबाट रातको समयमा बढी चोरी निकासी हुने गरेको पाइएको छ। नगर प्रहरी हवल्दार बाबुराम मरासिनीका अनुसार नगर प्रहरीको टोलीले स्थानीय इलाका प्रहरी कार्यालयसँगको समन्वयमा नियमित गस्ती बढाएर यी ट्याक्टरहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासी गर्ने सवारीसाधनलाई प्रतिपटक ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। यसरी कारबाहीमा परेका कतिपय ट्याक्टरहरू ३।३ पटकसम्म सोही कसुरमा दोहोरिएर जरिवानामा परेका छन्।
समाचार संग सम्वन्धित लिंक ः https://www.mayadevionline.com/2026/06/172046







प्रतिक्रिया