२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

दुर्गा मन्दिर बैरियामा आयोजित पुरुषोत्तम मास महात्म्य कथाको आय व्यय सार्वजनिक



वाणगंगा।

कपिलवस्तुको वाणगंगा–१, बैरिया स्थित श्री दुर्गा भगती मन्दिरमा आयोजित श्री पुरुषोत्तम मास महात्म्य कथा २०८३ को आयव्यय विवरण सार्वजनिक गरिएको छ। जेठ १८ देखि २० गतेसम्म सञ्चालन भएको तीन दिने धार्मिक अनुष्ठानको आज मन्दिर परिसरमा आयोजित कार्यक्रममा आय–व्यय विवरण सार्वजनिक गरिएको हो।

मन्दिर व्यवस्थापन समितिका सचिव महेश पन्तका अनुसार यज्ञ अवधिभर संकलित दान तथा सहयोगबाट कुल ७ लाख १९ हजार ५ सय ५७ रुपैयाँ आम्दानी भएको छ भने १ लाख २४ हजार १ सय ३५ रुपैयाँ खर्च भएको छ।

तीन दिनसम्म सञ्चालन भएको उक्त महायज्ञ सफल बनाउन स्थानीय समुदायबाट आर्थिक, भौतिक, नैतिक तथा जिन्सी सहयोग प्राप्त भएको थियाे । विभिन्न सहयोगी तथा चन्दादाताहरूबाट उल्लेखनीय सहयोग जुटेको आयोजकले जनाएको छ।

महात्म्य कथाका प्रमुख कथावाचक सुमित घिमिरेले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म कथा वाचनसहित विविध धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए। उनले आफ्नै गाउँको मन्दिरका लागि कुनै पारिश्रमिक नलिई सेवा दिएका थिए।

यज्ञमा स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाबाट भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दैनिक पूजा, पाठ, पारायण, कथा प्रवचन, आरती, पुष्पाञ्जली तथा भक्ति संगीतलगायत कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न भएका थिए। समितिका अध्यक्ष तिलक खत्रीका अनुसार स्थानीयको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताएका थिए ।

यज्ञकै अवसरमा मन्दिर परिसरमा निर्माणाधीन वृहत मन्दिरका लागि सहयोग जुटाउन स्थानीय समाजसेवी तथा भक्तजनहरूले एक–एक लाख रुपैयाँसम्म दान गरेका थिए।

कोषाध्यक्ष भुवन न्यौपानेले यज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, चन्दादाता, सहयोगी संघसंस्था, बैरिया युवा समाज, व्यवसायी तथा मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे।

प्रकाशित मिति : २ असार २०८३ मंगलबार ००:००  ११ : ४३ बजे