कपिलवस्तु ।
अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बाणगंगा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा दुई दिन बिदा दिएको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार असार ४ र ५ गते दुई दिन विद्यालय बन्द रहने गरी गर्मी बिदा दिइएको हो। पछिल्लो समय तापक्रम बढ्दै जाँदा विद्यार्थीको स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ।
नगरपालिकाले बाणगंगा क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई उक्त अवधिमा पठनपाठन स्थगित गरी बिदा कार्यान्वयन गर्न आग्रह गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै निर्णय गरिएको उल्लेख गरिएको छ। साथै सम्बन्धित सबै विद्यालयलाई निर्णयबारे जानकारी गराउँदै आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ।
बढ्दो गर्मीका कारण देशका विभिन्न जिल्लामा समेत विद्यालय सञ्चालन समय परिवर्तन गर्ने तथा बिदा दिने क्रम बढिरहेका बेला बाणगंगा नगरपालिकाले पनि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै दुई दिने बिदा घोषणा गरेको हो।










प्रतिक्रिया