तौलिहवा, कपिलवस्तु। कपिलवस्तु जिल्लाका बालबालिकालाई संगठित गर्ने उद्देश्यले जिल्ला स्तरीय बालभेला मार्फत जिल्ला बाल सञ्जाल कपिलवस्तु गठन गरिएको छ। तौलिहवामा बिहीबार सम्पन्न भेलाले निखिल थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सञ्जालको उपाध्यक्षमा महिमा यादव, सचिवमा रजिना भट्टराई, सहसचिवमा दिवस भट्टराई तथा कोषाध्यक्षमा गायत्री पाल चयन भएका छन्। सदस्यहरूमा संक्षिता गहतराज, प्रियंका यादव, रन्जु कुर्मी र प्रवेश पासी रहेका छन्। कृष्णनगर नगरपालिकाबाट प्रतिनिधित्व नभएकाले त्यहाँबाट सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लाका सबै पालिकाका बालबालिका एकै सञ्जालमा आबद्ध हुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो। उहाँले बालबालिकाले समाजमा रहेका विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउँदै सकारात्मक परिवर्तनका लागि अग्रसर हुनुपर्ने धारणा राख्नुभयो। सामाजिक सञ्जालको बढ्दो प्रयोग र दुरुपयोगबाट उत्पन्न समस्याप्रति सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी भविस्वर घिमिरेले नवगठित सञ्जालले बाल अधिकार संरक्षण, प्रवर्द्धन तथा बालबालिकाका सवाल उठाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। संविधानले सुनिश्चित गरेको बाल अधिकारको प्रभावकारी कार्यान्वयनमा सञ्जाल सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख लक्ष्मणप्रसाद ज्ञवाली, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चोपकान्त बेल्वासे तथा गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्जाललाई निरन्तर सक्रिय राख्न आग्रह गर्नुभयो।
जिल्ला समन्वय समितिको आयोजना तथा पिस नेपालको व्यवस्थापनमा सम्पन्न भेलामा जिल्लाका १० वटै स्थानीय तहका बालबालिका, सरोकारवाला निकायका प्रतिनिधि, नेपाल प्रहरी, महिला तथा बालबालिका शाखाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन नाइसा अधिकारीले राख्नुभएको थियो।
जिल्ला बाल सञ्जाल गठनसँगै कपिलवस्तुका १० वटै पालिकाका बालबालिकाका समस्या, सवाल र आवाजलाई प्रभावकारी रूपमा उठाउँदै बाल अधिकार तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया