मायादेवी अनलाइन, शितगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिकाको सिमानामा अवस्थित चर्चित भाइरल डाँडोमा “शितगंगा–११, अर्घाखाँची” लेखिएको परिचयात्मक बोर्ड स्थापना गरिएको छ। यो क्षेत्र महेन्द्र राजमार्ग अन्तर्गत धानखोला आसपास पर्छ ।
शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलको विशेष उपस्थिति तथा वडा नं. ११ का अध्यक्ष नवराज भुसालको पहलमा बोर्ड स्थापना गरिएको हो।
बोर्ड स्थापनासँगै यस क्षेत्रको पहिचान थप स्थापित हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
बोर्ड स्थापना पछि प्रतिक्रिया दिदैँ नगरप्रमुख छबिलाल पौडेलले स्थानीय पहिचानलाई उजागर गर्दै पर्यटन विकासमा योगदान पुर्याउने यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।
वडाअध्यक्ष नवराज भुसालले भाइरल डाँडो शितगंगा नगरपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको उल्लेख गर्दै यसको प्रचारप्रसार र व्यवस्थापनका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्थानीय पहिचानलाई थप मजबुत बनाउन तथा आगन्तुकलाई स्थानको स्पष्ट जानकारी गराउने उद्देश्यले परिचयात्मक बोर्ड स्थापना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा, कार्यपालिका सदस्य, वडा सदस्य, पूर्व जनप्रतिनिधि, पूर्व कार्यपालिका सदस्य तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो।












प्रतिक्रिया