भैरहवा ।
अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्ने सन्धिखर्क–गोरुसिङ्गे सडक निर्माण सुरु भएको ५३ वर्ष बितिसक्दा पनि पूर्ण सुरक्षित हुन सकेको छैन । सडकका दर्जनौँ साँघुरा मोड, कमजोर संरचना र अपर्याप्त चौडाइका कारण यात्रु अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
२०३० सालमा स्थानीयवासीले कोदालो, गैती र बेल्चाको सहायताले निर्माण थालेको यो सडक अहिले जिल्लाको प्रमुख जीवनरेखा मात्र नभई धार्मिक तथा पर्यटकीय मार्गका रूपमासमेत स्थापित भएको छ । कपिलवस्तुको गोरुसिङ्गेबाट ठाडा, नरपानी हुँदै सन्धिखर्क जोड्ने ६८ किलोमिटर लामो सडकमार्फत सुपा देउराली मन्दिर पुग्ने तीर्थयात्री, गुल्मी, पाल्पा तथा दाङबाट आवतजावत गर्ने यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ ।
जिल्ला विकास समितिका पूर्वसभापति पिताम्बर भुसालका अनुसार सडक निर्माणका सुरुवाती वर्षमा स्थानीयले जङ्गल र भिरपाखा फोरेर वर्षौंसम्म श्रमदान गरेका थिए । उहाँले भन्नुभयो, “घरबाट खानेकुरा बोकेर जङ्गलमै पकाएर खाँदै बाटो खनिएको थियो ।” उहाँले २०४३ सालमा पहिलो पटक सन्धिखर्कमा ट्याक्टर पुगेको र २०६० सालमा सडक कालोपत्रे सम्पन्न भएको स्मरण गर्नुभयो ।
यातायातको चाप बढ्दै जाँदा सडकलाई दुई लेनमा विस्तार गर्ने योजना अघि बढाइए पनि बजेट अभाव मुख्य बाधा बनेको छ । सडक डिभिजन कार्यालय शिवपुरका प्रमुख सविन कोइरालाका अनुसार आगामी आर्थिक वर्षका लागि मोड फराकिलो बनाउने, पर्खाल निर्माण, नाली व्यवस्थापन तथा अन्य संरचनात्मक सुधारका काम गर्न २० करोड रुपियाँ माग गरिएको थियो तर सरकारले पाँच करोड रुपियाँ मात्र विनियोजन गरेको छ ।
उहाँका अनुसार सडकका बसेरी, डोहोटे, नरपानी, फुदवाङ, सीतापुरलगायत क्षेत्रमा करिब ५० वटा जोखिमयुक्त मोड छन् । हाल ६८ किलोमिटरमध्ये ३० किलोमिटर सडक मात्रै सात मिटर चौडा छ भने बाँकी खण्ड पाँच मिटर चौडाइमा सीमित छ । बाँकी ३८ किलोमिटर सडकलाई सात मिटर चौडा बनाउन, सुरक्षात्मक पर्खाल र नाली निर्माण गर्न करिब एक अर्ब रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसालले संसद्मा उक्त सडकलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट व्यवस्था गर्न माग गर्नुभएको छ । दुई अर्ब लागत अनुमान गरिएको योजनामा पाँच करोड रुपियाँ मात्र विनियोजन हुनु निराशाजनक भएको उहाँको भनाइ छ ।
स्थानीय, यातायात व्यवसायी र सरोकारवालाले सडकलाई पूर्ण रूपमा दुई लेनमा विस्तार गरी सुरक्षित बनाउन पर्याप्त बजेट सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार यो सडक अब केवल जिल्ला सदरमुकाम जोड्ने मार्ग नभई धार्मिक पर्यटन र क्षेत्रीय आवागमनको महìवपूर्ण कोरिडोर बनिसकेको छ । –गोरखापत्रबाट













प्रतिक्रिया