१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

वाणगंगा–९ मा स्थानीय बाल अधिकार समिति गठन तथा अभिमुखीकरण सम्पन्न



भलवाड ।

वाणगंगा नगरपालिका–९ वडा कार्यालय र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्य तथा बिलिफ कार्यक्रमको सहयोगमा वडा स्तरीय स्थानीय बाल अधिकार समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।बाल अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रतिनिधि हरी अधिकारीले बाल अधिकार, स्थानीय बाल अधिकार समितिको आवश्यकता, गठन प्रक्रिया तथा समितिको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएका थिए। उनले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै समितिले बाल अधिकारको संरक्षणमा सक्रिय रूपमा काम गर्नुपर्ने बताए।

बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन सम्बन्धी कार्यविधि बमोजिम वडा अध्यक्ष कमल पौडेलको अध्यक्षतामा १२ सदस्यीय स्थानीय बाल अधिकार समिति गठन गरिएको छ। समितिमा वडा सदस्यहरू, स्वास्थ्य चौकी प्रमुख, बालमैत्री सहजकर्ता, वडा स्तरीय बाल सञ्जालबाट एक बालक र एक बालिका प्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिवका रूपमा वडा सचिव रहनु भएको छ ।

कार्यक्रममा सहभागीहरूले बालबालिकामैत्री वडा निर्माण, बाल अधिकारको प्रभावकारी कार्यान्वयन तथा बालबालिकासम्बन्धी समस्या समाधानमा समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।वडा अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण बिलिफ कार्यक्रमका सहजकर्ता मञ्जु भट्टराई र हिरा अर्यालले गरेका थिए।

प्रकाशित मिति : १७ असार २०८३ बुधबार ००:००  ८ : ४६ बजे