मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवस्थित श्रीङ्गीघाट सामुदायिक वन पछिल्ला वर्षहरूमा वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेखनीय काम गर्दै उदाहरणीय संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।
वन संरक्षण, जैविक विविधताको व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्ने आफ्नो मूल दायित्वसँगै वनले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापन तथा सामुदायिक पूर्वाधार निर्माणका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
सामुदायिक वन भन्नेबित्तिकै धेरैको बुझाइमा काठ, दाउरा र घाँसको व्यवस्थापन गर्ने संस्था भन्ने धारणा रहेको भए पनि श्रीङ्गीघाट सामुदायिक वनले त्यो सीमालाई तोड्दै समुदायको समग्र विकासमा आफ्नो भूमिका विस्तार गरेको छ । वन उपभोक्ताका आवश्यकता र स्थानीय समाजका समस्यालाई केन्द्रमा राखेर सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूले वनप्रति नागरिकको विश्वास बढाएको छ ।
वनले विभिन्न समयमा विद्यालय, सामाजिक संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि, खेलकुद कार्यक्रम र जनचेतनामूलक अभियानहरूमा सहयोग गर्दै आएको स्थानीयहरू बताउँछन् । विपन्न तथा असहाय परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने, सामुदायिक हितका कार्यक्रम सञ्चालन गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधिहरूमा सहभागिता जनाउने कार्यले वनलाई अन्य सामुदायिक संस्थाभन्दा फरक पहिचान दिलाएको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार वनले प्राकृतिक स्रोतको संरक्षण मात्र नगरी सामाजिक एकता र सामुदायिक सहकार्यको वातावरण समेत निर्माण गरेको छ । वनको आम्दानीलाई केवल वन व्यवस्थापनमा सीमित नराखी समुदायको आवश्यकताअनुसार सामाजिक क्षेत्रमा खर्च गर्ने अभ्यासले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा पनि श्रीङ्गीघाट सामुदायिक वन सक्रिय रहेको छ । नियमित वन गस्ती, वृक्षरोपण, डढेलो नियन्त्रण, अवैध कटानी नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी वन संरक्षणलाई प्रभावकारी बनाउने प्रयास भइरहेको वनका अध्यक्ष सुशील सिंह ठकुरी बताउँछन् । वन क्षेत्रभित्र जैविक विविधता संरक्षण तथा हरियाली प्रवद्र्धनका गतिविधिहरूसमेत सञ्चालन हुँदै आएका छन् ।
वन व्यवस्थापन समितिले उपभोक्ताको सहभागितालाई प्राथमिकतामा राख्दै पारदर्शी र उत्तरदायी ढंगले काम गर्दै आएको जनाएको छ । वनको आयआर्जनलाई समुदायमै लगानी गर्ने नीति अवलम्बन गरिएकाले स्थानीयवासीले प्रत्यक्ष लाभ प्राप्त गरिरहेको बताइन्छ ।
समाजमा रहेका विपन्न, अशक्त तथा आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्ने कार्यमा पनि वनले समय–समयमा पहल गर्दै आएको छ । विभिन्न सामाजिक अभियान, सरसफाइ कार्यक्रम, वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धिका गतिविधिमा वनको सक्रिय सहभागिता देखिन्छ ।
स्थानीयवासीहरूका अनुसार श्रीङ्गीघाट सामुदायिक वनले वन संरक्षण र सामाजिक विकासलाई सँगसँगै अघि बढाउने नमुना अभ्यास प्रस्तुत गरेको छ । सामुदायिक संस्थाले चाहेमा सीमित स्रोतसाधनका बीच पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण वनले स्थापित गरेको उनीहरूको भनाइ छ ।
आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, वातावरण संरक्षणलाई सुदृढ गर्ने, युवाहरूलाई वन संरक्षण अभियानमा जोड्ने तथा समुदायको आर्थिक तथा सामाजिक विकासमा थप योगदान पुर्याउने योजना वन व्यवस्थापन समितिले बनाएको अध्यक्ष ठकुरीले बताए ।
वन संरक्षण, सामाजिक उत्तरदायित्व र सामुदायिक विकासलाई सँगसँगै अघि बढाउँदै आएको श्रीङ्गीघाट सामुदायिक वन आज बाणगंगा क्षेत्रका लागि मात्र होइन, समग्र कपिलवस्तुकै लागि एक उदाहरणीय सामुदायिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ । हरियाली संरक्षणसँगै सामाजिक सेवामा देखाएको सक्रियताले वनलाई समुदायको भरोसाको केन्द्र बनाएको स्थानीयहरूको भनाइ छ ।













प्रतिक्रिया