रामपुर (पाल्पा) । तीन वा तीनभन्दा बढी सन्तान जन्माउने परिवारको तेस्रो वा तेस्रोपछिका सन्तानलाई रामपुर नगरपालिकाले मासिक एक हजार रुपियाँ दिने भएको छ । चालु आर्थिक वर्षदेखि प्रोत्साहनस्वरूप मासिक पाँच सय रुपियाँ दिने प्रक्रिया सुरु गरेको नगरपालिकाले आगामी आवदेखि एक हजार रुपियाँ प्रदान गर्ने नीति लिएको हो ।
जनसङ्ख्या वृद्धिदर घट्दै गइरहेको सन्दर्भमा नगरपालिकाले जनसङ्ख्या वृद्धिलाई व्यवस्थित रूपमा प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको हो । नगरप्रमुख रमणबहादुर थापाले नगर सभाको १९ औँ अधिवेशनले तेस्रो सन्तान र तेस्रो सन्तानपछिका हरेक सन्तानलाई आगामी वर्षदेखि पाँच वर्षसम्म मासिक एक हजार रुपियाँ प्रदान गर्ने नीति पारित गरेको जानकारी दिनुभयो ।
जनसङ्ख्या वृद्धिदर कम हुँदै गइरहेको, बौद्धिक तथा दक्ष युवाशक्ति पलायन भइरहेको अवस्थामा नगरको दीर्घकालीन श्रमशक्ति, आर्थिक स्थायित्व र सामाजिक असन्तुलनको जोखिम देखिएकाले जनसङ्ख्या वृद्धिलाई व्यवस्थित रूपमा प्रोत्साहन गर्ने व्यवस्था लागु गर्न लागिएको थापाले बताउनुभयो ।
उहाँले तेस्रो वा तेस्रो सन्तानपछिका हरेक सन्तानका नाममा बालबचत खाता स्थापना गरी पाँच वर्ष उमेर नपुगुन्जेलसम्म नगरपालिकाबाट नियमित रूपमा जम्मा गरिने व्यवस्था लागु गरिने बताउनुभयो । उपप्रमुख बालकुमारी थापाले चालु आवमा तीन लाख रुपियाँ प्रोत्साहन भत्ताका लागि विनियोजन गरिएकामा आगामी आवका लागि पाँच लाख रुपियाँ बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।













प्रतिक्रिया