२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

श्रृङ्गीघाट सामुदायिक वनद्वारा आगलागी नियन्त्रणका लागि फायर हाइड्रेन्ट जडान बिस्तार



कपिलवस्तु । वाणगंगा नगरपालिका क्षेत्रका मुख्य बजार तथा गाउँबस्तीमा आगलागीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले फायर हाइड्रेन्ट जडान अभियानलाई तीव्रता दिएको छ।

बढ्दो शहरीकरणसँगै बजार तथा बाक्लो बस्तीमा आगलागी हुँदा तत्काल पानीको अभाव नहोस् भन्ने उद्देश्यले समूहले उपभोक्ता क्षेत्रभित्रका मुख्य चोक तथा संवेदनशील स्थानमा फायर हाइड्रेन्ट जडान गर्दै आएको हो। सामुदायिक वनको कार्यक्षेत्रअन्तर्गत वडा नं. १, ३, ४ र ५ का उपयुक्त स्थानमा क्रमशः उपकरण जडान गरिने जनाइएको छ।

नगरको प्रमुख व्यापारिक केन्द्र जितपुर, चारनम्बर, गजेहडा, त्यसक्षेत्रका विद्यालय, अस्पताल, प्रहरी चौकी, हाटबजार तथा बाक्लो बस्ती भएका क्षेत्रलाई प्राथमिकतामा राखेर फायर हाइड्रेन्ट जडान गरिएको समूहले जनाएको छ। गत वर्षदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको हो।

श्रृङ्गीघाट सामुदायिक बन समूहका अध्यक्ष सुशील सिंह ठकुरीका अनुसार आधुनिक प्रविधिमा आधारित फायर हाइड्रेन्ट जडानले बजार तथा गाउँबस्तीमा हुने आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। उहाँले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको उपयोगसँगै स्थानीयवासीले उपकरणको सही प्रयोग र संरक्षणमा समेत सचेत हुनुपर्ने बताउनुभयो।

गत वर्ष ७ वटा फायर हाइड्रेन्ट जडान गरिएकोमा यस वर्ष थप १४ वटा जडान गर्ने लक्ष्य राखिएको छ। हालसम्म ७ वटा जडानको प्रक्रिया अघि बढिसकेको समूहले जनाएको छ। वाणगंगा भूपू सैनिकको सहयोगमा खानेपानीको पाइपलाइन विस्तार भएका स्थानमा उपकरण जडान गरिएको हो। एउटा फायर हाइड्रेन्ट सेट जडान गर्न करिब ७० हजार रुपैयाँ खर्च हुने बताइएको छ।

समूहकी सचिव सुस्मा खाँणले फायर हाइड्रेन्ट जडानसँगै यसको प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार चार नम्बर–तौलिहवा सडकखण्डमा दुईवटा स्कुटीमा आगलागी हुँदा नजिकै फायर हाइड्रेन्ट भए पनि स्थानीयले यसको प्रयोग गर्न नसकेको अवस्था देखिएको थियो। त्यसैले समय–समयमा अभ्यास, पूर्वतयारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ।

सामुदायिक वनले फायर हाइड्रेन्टको प्रयोगबारे जानकारी गराउन तौलिहवा सडकखण्डस्थित वनकाे संरक्षण क्षेत्रको फूलबारीमा सिँचाइ गरी उपकरणको प्रयोगसम्बन्धी प्रदर्शनसमेत गरेको जनाएको छ।

फायर हाइड्रेन्ट के हो?

फायर हाइड्रेन्ट आगलागी नियन्त्रणका लागि पानीको निरन्तर आपूर्ति उपलब्ध गराउने सक्रिय अग्नि सुरक्षा प्रणालीको महत्वपूर्ण उपकरण हो। यो सडक किनार, सार्वजनिक खानेपानीको पाइपलाइन वा अन्य पानीको स्रोतसँग जोडिएको हुन्छ। आगलागीको अवस्थामा दमकल वा अग्नि नियन्त्रकहरूले विशेष रेञ्च (Wrench) को सहायताले यसको भल्भ खोलेर पाइप जडान गर्छन् र उच्च दबाबमा पानी प्राप्त गरी आगो नियन्त्रणमा प्रयोग गर्छन्। यस्तो प्रणालीले दमकलको ट्याङ्कीमा पानी सकिएको अवस्थामा समेत तत्काल पानी उपलब्ध गराई आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउँछ।

प्रकाशित मिति : २१ असार २०८३ आइतबार ००:००  ५ : १५ बजे