३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

कपिलवस्तुमा सवारी दुर्घटना बढ्दो, साउनमा मात्रै ९ जनाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा साउन महिनामा मात्रै सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार साउन महिनामा सवारी दुर्घटनाको संख्या बढेको हो।

प्रहरीका अनुसार साउन महिनामा जिल्लाका विभिन्न स्थानमा ७१ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ९ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन्। दुर्घटनाका क्रममा १० वटा पशुचौपाया समेत मरेका छन्।

डीएसपी सिंहका अनुसार छाडा पशुचौपाया, तीव्र गति लगायतका कारण जिल्लामा सवारी दुर्घटना बढेको हो। सडकमा छाडा पशुचौपाया हिँड्ने तथा चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने गरेको उहाँले बताउनुभयो।

सवारी दुर्घटना न्यूनीकरणका लागि चालकले गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पालना गर्ने तथा सडकमा छाडा पशुचौपायाको व्यवस्थापन गर्न आवश्यक देखिएको छ।

प्रकाशित मिति : ३ भदौ २०८३ बुधबार ००:००  ९ : ५३ बजे