काठमाडौं ।
फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोरलाई विश्व फुटबलको सर्वोच्च निकायले बर्खास्त गरेको छ । निजी लगानीकर्तालाई फिफाका प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कडा आलोचना गरेको तीन हप्ताभन्दा कम समयमै लामोरलाई पदबाट हटाइएको हो ।
फिफाका प्रवक्ताले लामोरसँगको काम गर्ने सम्बन्ध यही अगस्ट १७ अगस्टमा अन्त्य भएको पुष्टि गरेका छन् । प्रवक्ताले भने, “फिफामा दुई वर्ष सेवा गरेकामा केभिनलाई धन्यवाद दिँदै आगामी भविष्यका निम्ति शुभकामना व्यक्त गर्दछौँ ।”
महासचिव माटियास ग्राफस्ट्रोमले सोमबार साँझ इमेलमार्फत लामोर र फिफाले ‘आपसी सहमतिमा अलग हुने निर्णय गरेको’ जानकारी दिएका थिए ।
गएको महिना लामोरले विवादास्पद फिफा फर्वार्ड इन्टरप्राइज ९एफएफई० योजनालाई एक व्यक्तिको परियोजना भनेर आलोचना गरेका थिए । लामोरले उक्त योजना फिफाको प्रशासनलाई नै छल गरिएको भन्दै भनेका थिए, “यदि, यसको अर्थ मैले आफ्नो जागिर गुमाउनुपर्छ भने पनि त्यस्तै होस् । म त्यो निर्णयलाई बुझ्ने र सम्मान गर्नेछु । कम्तीमा राति म शान्तसँग सुत्न सक्छु ।”
लामोर सन् २०२४ नोभेम्बरमा फिफा प्रवेश गरेका थिए । उनी त्यसअघि यूईएफएका उपमहासचिव थिए । फिफामा उनी इन्फान्टिनोभन्दा दुई तह तलको व्यवस्थापनमा थिए ।
यसै महिनाको सुरुआतमा मोरक्कोमा भएको बैठकमा इन्फान्टिनोले फिफाका वरिष्ठ कार्यकारीको समर्थन पाएका थिए । तर, लामोरलाई उक्त बैठकमा निमन्त्रणा गरिएको थिएन ।
मोरक्को बैठकमा समर्थन पाए पनि इन्फान्टिनोको आलोचना घटेको छैन । आउँदो फिफा निर्वाचनमा उनीविरुद्ध नयाँ उमेदवार उठाउने तयारी भइरहेको छ ।








प्रतिक्रिया