बाबुराम रायमाझी ।
लुम्बिनी प्रदेशका पत्रकारहरूलाई बाल अधिकार तथा बालकेन्द्रित पत्रकारिताबारे थप जिम्मेवार, संवेदनशील र व्यावसायिक बनाउन आयोजित दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ।पिस नेपालद्वारा सेभ द चिल्ड्रेन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारा स्थित होटल इभरल्याण्डमा सञ्चालन गरिएको कार्यशालामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट समावेशिताका आधारमा दुई–दुई जना बाल अधिकार क्षेत्रमा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यशालामा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा बाल सहजकर्ता दुर्गालाल केसीले बालबालिकासँग सम्बन्धित समाचार लेख्दा पत्रकारले विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका थिए उनले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके मात्र पत्रकारिताले आफ्नो सामाजिक उत्तरदायित्व प्रभावकारी रूपमा पूरा गर्न सक्ने बताएका थिए ।
उनले बालबालिका समाचारका पात्र मात्र नभई अधिकार सम्पन्न नागरिक भएकाले उनीहरूको आवाज, सम्मान, सुरक्षा र सहभागिताको अधिकारलाई पत्रकारिताले संरक्षण गर्नुपर्ने उल्लेख गर्दै “बालबालिकालाई थप पीडा पुग्ने, सामाजिक रूपमा अपमानित हुने वा भविष्यमा नकारात्मक असर पर्ने सामग्री प्रकाशन वा प्रसारण गर्नु हुँदैन,” उनले बताएका थिए ।
केसीले बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, बालबालिकासम्बन्धी समाचारमा प्रयोग हुने भाषा, तस्वीर, भिडियो तथा पहिचान खुलाउने विषयमा पत्रकारले उच्च सतर्कता अपनाउनुपर्ने बताएका थिए बालमैत्री समाज निर्माणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले बाल अधिकारमैत्री सञ्चार अभ्यासलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकी वरिष्ठ महिला विकास अधिकृत संझना सुवेदीले बालबालिकाका विषयमा समाचार तयार गर्दा पत्रकारहरू अझ बढी जिम्मेवार र नैतिक बन्नुपर्ने बताइन्। उनले समाचार संकलनका क्रममा बालबालिका वा उनीहरूका अभिभावकको अनुमति बिना अन्तर्वार्ता लिने, तस्वीर खिच्ने वा पहिचान खुलाउने कार्यप्रति सचेत रहन आग्रह गरिन्।
“बालबालिकाको गोपनीयता संरक्षण गर्नु पत्रकारको नैतिक दायित्व हो,” उनले भनिन्, “विशेष गरी हिंसा, शोषण, दुर्व्यवहार वा अपराधसँग सम्बन्धित घटनामा बालबालिकाको पहिचान सार्वजनिक गर्दा उनीहरूको भविष्यमा गम्भीर नकारात्मक असर पर्न सक्छ। त्यसैले कानुनी व्यवस्था र पत्रकारिताको नैतिक मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आवश्यक छ।”
उनले बालमैत्री शासन, बाल संरक्षण तथा बाल अधिकारको प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै राज्यका प्रयासलाई प्रभावकारी बनाउन पत्रकारहरूको रचनात्मक सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरेकी थिइन ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा बाल अधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी आधार, संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि, नेपालको बालबालिकासम्बन्धी ऐन, बाल संरक्षणका मापदण्ड, बालमैत्री पत्रकारिता, समाचार लेखनमा नैतिकता, बालबालिकासँग अन्तर्वार्ता लिने विधि तथा बालमैत्री सञ्चार अभ्यासका विविध विषयमा विस्तृत प्रशिक्षण र अन्तरक्रिया गरिएको थियो।कार्यशालामा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा बाल सहजकर्ता दुर्गालाल केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं तथा पिस नेपालका बाल अधिकार संयोजक विजयकुमार अधिकारीले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सहजीकरण पिस नेपालका कार्यकारी निर्देशक मणि प्रसाद गैरेले गरेका थिए ।







प्रतिक्रिया