१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रकाशकीयः मायादेवी अनलाइन ९ औं बर्षमा



प्रकाशकीय
हामीले डिजिटल पत्रकारिताको अभ्यास गर्न थालेको ९ बर्ष पुरा भएको छ । कपिलवस्तुको पहिलो डिजिटल पत्रकारिताको रुपमा मायादेवी मिडिया ग्रुप प्रालिले मायादेवी अनलाइन आजभन्दा ठीक ९ बर्ष अगाडी mayadevionline.com सञ्चालनमा ल्याएको थियो । वि.सं. २०७४ सालको साउनदेखी सञ्चालनमा आएको mayadevi online ९ बर्ष पुगेको छ । यस अवसरमा सर्वप्रथम हाम्रा आदरणीय पाठक, दर्शक, विज्ञापनदाता, कर्मचारी सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।

मायादेवी अनलाइनको अफिसियल फेसबुक पेजमा १ लाख २ हजार फ्लोअर्स हुनुहुन्छ । यसलाई हामीले अमूल्य सम्पतीको रुपमा लिएका छौं । हामीले पस्कदै आएका समाचारमुलक सामग्रीले समाजका वास्तविक ऐना प्रकाशमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । हामीले अन्यायमा परेका वर्ग,समुदाय प्रति कहिल्यै गलत सम्झौता गरेका छैनौं । राज्यका निकायले गर्ने गलत कामप्रति पनि सधै खबरदारीमा छौं । कतिपय लुकेर रहेका घटनालाई उजागर गरेका छौं । निर्भिक ढंगले समाचारमुलक सामग्री लेख्ने हाम्रो मूल धर्म हो । यद्यपि कतिपय विषयवस्तुमाथि गहिरो ढंगले लाग्नुपर्ने अहिले पनि टड्कारो आवश्यकता छ, यसमा हामी चनाखो र होसियार छौं ।

मायादेवी अनलाइन सञ्चालनको सुरुवाती चरणमा हाम्रा दर्शकले दिनुभएको माया नै हाम्रा सम्पत्ती हुन् । सूचना, प्रविधिमा आएको बाढीले हामीलाई पनि उत्रन हम्मे हम्मे पारेको छ । समयको माग र चाहना अनुसार डिजिटल मिडियालाई लैजानुपर्ने चुनौती हामीसँग छ । छिनछिनमा सूचना पाउँ भन्ने पाठक धेरै हुनुहुन्छ । उहाँहरुको माग अनुसार अगाडी बढ्नुपर्ने आवश्यकता छ । तर छिनछिनमा सूचना दिने नाममा पत्रकारिताका न्यूनतम आचारसंहिता उल्लङ्घन गर्नुहुन्न भन्नेमा हामी सचेत छौं । आजको दिनमा हामी भिडियोमैत्री पत्रकारिता गर्नेमा दृढता व्यक्त गर्दछौं ।

गत बर्षको जेन्जी आन्दोलन, अस्थिर राज्यशक्ती, त्रासपूर्ण समाजका बीच हामी निरन्तर आफ्नो सञ्चारकर्ममा लाग्यौं । कोरोनाकालको समयमा पनि हामी अनवरत रुपमा थियौं । यस्तै गत बर्ष पनि हामी उस्तै अदम्य साहसका साथ सञ्चारयात्रामा हिड्यौं । आम निर्वाचनमा नेपाली जनताले दिएको म्यान्डेट अनुसार सरकारको दिगोपनाको हामी पक्षपाती हौं । तर सरकारले मिडियाप्रति देखाउँदै आएको नीतिमा पुनःविचार गर्नुपर्छ भन्नेमा छौं । सञ्चार माध्यमलाई अनेकन तरिकाबाट असफल पार्न वर्तमान सरकार उद्दत छ । यसमा सरकार सच्चिन पर्छ । मिडिया लोकतन्त्रका बलिया खम्बा हुन् । तर पत्रकारिताका नाममा हुने अराजकताको पक्षपाती हामी छैनौं । कानून अनुसार मिडिया चल्नुपर्छ, प्रेस काउन्सिलले जारी गरेको पत्रकारिता आचारसंहिता अनुसार समाचार पस्कनुपर्छ भन्ने मान्यतामा हामी छौं । तर आफूले गरेका कुकर्मबारे समाचार सामग्री बनेका भरमा मिडियामाथी जाइलाग्ने प्रवृत्तिको सधैं विरोधमा उत्रिरहने छौं ।

अन्त्यमा, हामीलाई सधैं साथ, सहयोग र हौसला दिनुहुने हाम्रा समस्त पाठक, दर्शक, शुभचिन्तक, शुभेच्छुक, विज्ञापनदाता, अहोरात्र खटिने पत्रकार सहकर्मी सबैमा बार्षिकत्सवको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति : १२ श्रावण २०८३ मंगलबार ००:००  २ : ०९ बजे