१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

कावासोतीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, दोषी गाडी पक्राउको माग गर्दै महेन्द्रराजमार्ग अवरुद्ध



नवलपरासी ।
महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । घटनापछि अहिले बिहान स्थानीयले महेन्द्रराजमार्ग अबरुद्ध गरेका छन् ।

महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाडी कावासोतीमा रोकिएका छन् । ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार नारायणगढवाट बुटवलतर्फ जाँदै गरेको एउटा ट्रकको ठक्करबाट कावासोतीका ७१ वर्षका तुलसी च्वाईको बिहान मृत्यु भएको हो ।

फिलिम हल चोकमा पैदल बाटो काट्दै गरेका च्वाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महेन्द्रराजमार्गमा रहेको सीसीटीभी फुटेजका आधारमा ठक्कर दिने ट्रक खोज्न आफूहरु प्रयासरत रहेको प्रहरी निरीक्षक बर्तौलाले जानकारी दिए । ‘ट्रक खोज्न दुम्कीवासतर्फ जाँदै छौं’, बर्तौलाले भने ।स्थानीयले ठक्कर दिने गाडी नसमातिएसम्म अवरुद्ध राजमार्ग नखोल्ने अडान लिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८३ शनिबार ००:००  ८ : २७ बजे