१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

देशमा शान्ति र सामाजिक सद्भावको कामनासहित लुम्बिनीमा विशेष प्रार्थना



भैरहवा । देशमा शान्ति, सद्भाव, सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामनासहित विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीस्थित ऐतिहासिक मायादेवी मन्दिरपरिसरमा शुक्रबार विशेष प्रार्थना तथा पूजाआजा गरिएको छ ।

लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्योल, सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको वातावरण सुदृढ होस् भन्ने उद्देश्यसाथ सामूहिक प्रार्थना गरिएको हो ।

प्रार्थना कार्यक्रममा बौद्ध सम्प्रदायका भिक्षु–भिक्षुणी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी, लुम्बिनी होटेल सङ्घका प्रतिनिधि, लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीले हात जोडेर राष्ट्रमा स्थायी शान्ति, सामाजिक सद्भाव र मानवकल्याणको कामना गरेका थिए । कार्यक्रमका क्रममा राजकीय बौद्ध विहारका प्रमुख सागर धम्मको नेतृत्वमा भिक्षुले विशेष ‘परित्राण पाठ’ अन्तर्गत ‘मैत्रीसूत्र’ को स्वर वाचन गरेका थिए । प्रमुख धम्मका अनुसार मैत्रीसूत्रको पाठले मानिसको मनमा रहेको क्रोध, द्वेष र अशान्तिलाई कम गर्दै करुणा, मैत्रीभाव र सहअस्तित्वको भावना विकास गर्ने धार्मिक तथा आध्यात्मिक विश्वास रहिआएको छ ।

सो अवसरमा लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव हिमाल उप्रेतीले भगवान् बुद्धको जन्मभूमिबाट प्रवाहित हुने शान्ति र करुणाको सन्देशले सम्पूर्ण राष्ट्रलाई एकताको सूत्रमा बाँध्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशमा शान्ति, सद्भाव र भ्रातृत्व सुदृढ होस् भन्ने कामनासाथ मायादेवी मन्दिरपरिसरमा विशेष प्रार्थना आयोजना गरिएको बताउनुभयो ।

लुम्बिनीमा आयोजित उक्त विशेष प्रार्थना कार्यक्रमले वर्तमान मुलुकको परिस्थितिमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको सन्देश प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८३ शनिबार ००:००  २ : २७ बजे