१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

सर्भर समस्याका बीच बिदाको दिनसमेत खुल्यो बाणगंगा–९ वडा कार्यालय



भलवाड ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा सरकारी सर्भरमा बारम्बार समस्या देखिएपछि सेवाग्राहीलाई अनावश्यक सास्ती नहोस् भन्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–९ वडा कार्यालयले सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गरेको छ।वडा कार्यालयले शनिबार र आइतबार बिहान ७ बजेदेखि कार्यालय सञ्चालन गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरणको कार्यलाई तीव्रता दिएको हो। अन्य सरकारी कार्यालयहरू सार्वजनिक बिदाका कारण बन्द रहने र बिदाको दिन सर्भर तुलनात्मक रूपमा सहज रूपमा सञ्चालन हुने अनुमानका आधारमा सेवाग्राहीको हितलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ।

बिदाको दिन बिहानैदेखि वडा कार्यालयमा ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कर्मचारीहरू पनि बिदाको दिनसमेत नियमित रूपमा सेवामा खटिएर भत्ता नवीकरणको कामलाई छिटो, सहज र व्यवस्थित बनाउन सक्रिय देखिएका थिए ।

वडा अध्यक्ष कमल पौडेलले सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा सर्भरमा पटक–पटक समस्या आउने गरेको र त्यसका कारण सेवाग्राहीले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएकाले बिदाको दिनसमेत कार्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु वडा कार्यालयको प्रमुख दायित्व भएकाले आवश्यक परे आगामी दिनमा पनि यस्तै व्यवस्था मिलाइने बताउनुभयो।

सेवाग्राहीहरूले सार्वजनिक बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा उपलब्ध गराएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले यस व्यवस्थाले पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता हटेको, समयको बचत भएको र ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई विशेष राहत पुगेको प्रतिक्रिया दिएका छन्।नागरिकमैत्री सेवा प्रवाह, सेवाग्राहीको सुविधाप्रतिको संवेदनशीलता तथा जिम्मेवार कार्यशैली प्रस्तुत गर्दै बाणगंगा नगरपालिका–९ वडा कार्यालयले देखाएको सक्रियता स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाहको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णयले स्थानीय नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्य स्थानीय तहलाई पनि सेवामुखी कार्यशैली अपनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३ आइतबार ००:००  ९ : १८ बजे