सरिता थारु, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहमा विविध सचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाइएको छ । अगस्ट १ देखि ७ तारिखसम्म जिल्लाको विभिन्न स्थान तथा स्वास्थ्य संस्थामा कार्यक्रम आयोजना गरी स्तनपानको महत्वबारे गर्भवती महिला, सुत्केरी, सुनौला हजार दिनका आमाहरू लाई स्तनपानको महत्व, सही तरिका, सम्भावित समस्या र समाधानका उपायबारे जानकारी दिइएको हो ।
‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नाराका साथ कालिका स्वावलम्बन सामाजिक केन्द्र, हेलेन केलर इन्टरनेशनल, भिटामिन एन्जल्स र आई।डि।ई।को संयुक्त साझेदारीमा सञ्चालित ‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत विश्व स्तनपान सप्ताह मनाइएको हो । परियोजनाअन्तर्गत कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरी स्तनपानको महत्वबारे समुदायमा सचेतना फैलाइएको छ ।
यता विश्व स्तनपान सप्ताहका अवसरमा बाणगंगा नगरपालिकास्थित पिपरा अस्पताल, कोपवा स्वास्थ्य चौकी, हथौसा स्वास्थ्य चौकी, बैजलपुरलगायतका स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा आमाको दूध बालबालिकाको स्वास्थ्य, वृद्धि र विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै नियमित तथा प्रभावकारी स्तनपानका विषयमा स्वास्थ्यकर्मीहरूले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कोपवा स्वास्थ्य चौकीका इन्चार्ज जीवन खनाल, पिपरा अस्पतालकी वरिष्ठ अ।न।मी। कल्पना खनाल, सरस्वती पन्थी, हथौसा स्वास्थ्य चौकीमा कार्यरत अ।न।मी। लक्ष्मी पाण्डे, पिपरा अस्पतालमा कार्यरत पद्मिना पौडेललगायत स्वास्थ्यकर्मीहरूले स्तनपानसम्बन्धी सचेतना अभिवृद्धि गरेका थिए ।
स्वास्थ्यकर्मीहरूले शिशु जन्मिएको १ घण्टा भित्र आमाको दूध खुवाउने, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने तथा त्यसपछि पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा जानकारी गराएका थिए । यसैगरी स्तनपान गराउदा सही आसन र सम्पर्कले शिशुले पर्याप्त दूध खान पाउनुका साथै आमाको स्तनमा हुने दुखाइ तथा चिरा पर्ने समस्या कम गर्न सहयोग गर्ने बताइएका थिए ।
स्तनपानका क्रममा दूध नआउने जस्तो लाग्नु, स्तन दुख्ने वा कडा हुने, निप्पलमा चिरा पर्ने तथा शिशुले राम्रोसँग दूध नचुस्ने जस्ता समस्या देखिन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका थिए । यस्ता समस्या आएमा स्तनपान रोक्नुको सट्टा सही आसन र सम्पर्क मिलाउने, शिशुलाई बारम्बार स्तनपान गराउने तथा आवश्यक परे स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको थियो ।







प्रतिक्रिया