२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

कपिलवस्तुबाट शुभयात्रा नामको ई–ड्राइभ सेवा सुरुवात



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको वाणगंगामा ई–ड्राइभ लुम्बिनीको विद्युतीय सवारी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

यात्रारत यात्रुको सुरक्षित, भरपर्दो तथा व्यवस्थित यातायात सेवा उपलब्ध गराउने उद्देश्यले शुभयात्रा नामको ई–ड्राइभ सेवा सञ्चालनमा ल्याइएको हो।

उक्त सेवा विशेष कार्यक्रमका बीच बैरिया स्थित मायादेवी रिसोर्टमा उद्घाटन गरिएको थियो ।

ई–ड्राइभ लुम्बिनीका अध्यक्ष मनोज पौडेलले सेवा शुभारम्भसँगै जिल्लामा हाल प्रारम्भिक चरणमा ५ वटा विद्युतीय सवारी सञ्चालनमा ल्याइएको बताउँदै जिल्लाका आम सेवाग्राहीलाई लक्षित गरी सेवा विस्तार गर्ने योजना रहेको सुनाए। आगामी दिनमा थप विद्युतीय सवारी जिल्लामा भित्र्याइने उनले थप प्रष्ट्याए ।

अध्यक्ष पौडेलले यात्रुले मोबाइल तथा अनलाइन प्रविधिको माध्यमबाट आफूलाई आवश्यक पर्ने सवारी साधन सहज रूपमा बुकिङ गर्न सक्नेछन्। यसले यात्रुलाई सवारी खोज्न तथा चालकसँग सम्पर्क गर्नुपर्ने परम्परागत झन्झट कम गर्नुका साथै समयको बचत, सेवा पारदर्शिता र व्यवस्थित यातायात व्यवस्थापनमा समेत सहयोग पुग्ने पौडेलले बताए।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख चक्रपाणी अर्यालले बणगंगा नगरपालिकामा आधुनिक प्रविधिको प्रयोगसँगै नयाँ प्रकारको यातायात सेवा थप हुनु सकारात्मक पक्ष भएको बताउँदै ई–ड्राइभको सेवा वाणगंगा नगरपालिकामा मात्र सीमित नभई समग्र कपिलवस्तु जिल्लाका नागरिकलाई लक्षित भएकाले सेवाको गुणस्तर र व्यवस्थापनमा विशेष ध्यान दिन सञ्चालक पक्षलाई आग्रह गरे ।

पछिल्लो समय विद्युतीय सवारीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा कपिलवस्तुमा डिजिटल प्रविधिसहित ई–मोबिलिटी सेवा सुरु हुनुलाई यातायात क्षेत्रको नयाँ सुरुवातका रूपमा हेरिएको छ। यात्रुलाई सहज र भरपर्दो सेवा प्रदान गर्दै जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने लक्ष्यले स्थानीय यातायात सेवामा नयाँ विकल्प थपिएको छ।

ई–ड्राइभ लुम्बिनीले यात्रु र चालकबीचको दूरी घटाउँदै प्रविधिमैत्री, पारदर्शी र जिम्मेवार यातायात संस्कार विकास गर्ने लक्ष्य लिएको जनाएको छ। प्रारम्भिक चरणमा पाँचवटा सवारीबाट सुरु भएको सेवा आगामी दिनमा थप सवारीसहित जिल्लाका विभिन्न क्षेत्रमा विस्तार गरिने बताइएको छ ।

प्रकाशित मिति : २ भदौ २०८३ मंगलबार ००:००  ५ : ५६ बजे