कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२औँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभाका अवसरमा शाखाले निर्माण गरेको नयाँ आधिकारिक वेबसाइटको औपचारिक शुभारम्भ गर्दै शाखालाई थप प्रविधिमैत्री, सूचनामैत्री र पारदर्शी बनाउने अभियान सुरु गरिएको छ।
साधारणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारहरूले आफ्नो ज्ञान, सीप र क्षमता निरन्तर अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो। प्रविधिको प्रयोगसँगै पत्रकारिता क्षेत्रमा नयाँ चुनौतीसमेत थपिएको उल्लेख गर्दै उहाँले सत्य, तथ्य र जिम्मेवारीमा आधारित समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
महासंघ कपिलवस्तु शाखाले वेबसाइट निर्माण गरी प्रविधिमैत्री पत्रकारिताको दिशामा महत्वपूर्ण कदम चालेको भन्दै महासचिव दाहालले प्रशंसा गर्नुभयो। उहाँले शाखाले जिल्लामा गरेका गतिविधि देशमै नमुनाका रूपमा स्थापित भएको उल्लेख गर्दै आगामी दिनमा पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकारको हकहित तथा सञ्चारमाध्यमको संरक्षणका लागि महासंघ निरन्तर सक्रिय रहने बताउनुभयो।
नेपालका सञ्चारमाध्यमहरू गम्भीर आर्थिक तथा भौतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै दाहालले राज्यले सञ्चार क्षेत्रको संरक्षण तथा पत्रकारको न्यूनतम पेशागत सुरक्षाका विषयमा पर्याप्त ध्यान दिन नसकेको बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले समाजको सकारात्मक रूपान्तरण तथा स्थानीय विकास निर्माणका गतिविधि उजागर गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। स्थानीय तहका गतिविधि, विकास निर्माण र सामाजिक विकृतिविरुद्ध कपिलवस्तुका पत्रकारहरूले खेल्दै आएको भूमिका प्रशंसायोग्य रहेको उहाँको भनाइ थियो।
जिल्लाको समग्र विकास, सुशासन र पारदर्शिता प्रवर्द्धनका लागि जिल्ला समन्वय समिति सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको आचार्यले बताउनुभयो।
कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका प्रमुखहरूले पनि आधुनिक प्रविधिले सूचना प्रवाहलाई तीव्र र सहज बनाएसँगै गलत सूचना तथा भ्रम फैलिने जोखिमसमेत बढाएको बताउनुभयो। उहाँहरूले पत्रकार तथा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्नुअघि तथ्य परीक्षण र स्रोतको विश्वसनीयतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

स्थानीय तहका विकास निर्माण, सुशासन तथा रचनात्मक गतिविधि जनतासम्म पुर्याउन स्थानीय सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँहरूले सञ्चारमाध्यमको संरक्षण, संवर्द्धन र दिगोपनका लागि महासंघसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शान्ति, सुरक्षा, सुशासन र नागरिक अधिकारका विषयमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। प्रशासन तथा सुरक्षा निकायका कामकारबाहीबारे नागरिकलाई सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि र स्रोतको विश्वसनीयतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज रामराज पोख्रेल र लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले सञ्चार क्षेत्रले सामना गरिरहेको वर्तमान संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। कपिलवस्तु शाखाले सुरु गरेको डिजिटल यात्राले सूचना प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै उहाँहरूले सफलताको शुभकामना दिनुभयो।
उहाँहरूले श्रमजीवी पत्रकारको हकहित, पेशागत मर्यादा र क्षमता विकासका लागि महासंघ निरन्तर अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारणसभाका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै उत्कृष्ट पत्रकारहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। उत्कृष्ट पत्रकारिता पुरस्कारबाट जानु पाण्डे र गीता पौडेल सम्मानित हुनुभयो। त्यसैगरी पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेकोमा रेडियोकर्मी भुपाल थापा र तुलसीराम यादवलाई विशेष शैक्षिक सम्मान प्रदान गरिएको छ।
महासंघ कपिलवस्तु शाखाको पत्रकार दुर्घटना कोषका लागि सहयोग गर्ने जिल्लाका सातवटा स्थानीय तहलाई समेत कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
साधारणसभाले नेपाली पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकारका अधिकार तथा कपिलवस्तुको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण र विकासका विषयमा छलफल गर्दै १३ बुँदे घोषणा–पत्रसमेत जारी गरेको छ।
कार्यक्रम शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, उपाध्यक्ष खगप्रसाद चापागाईंको स्वागत तथा सचिव सनि उल्ला धोबीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरी, प्रहरी उपरीक्षक मनोहर भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, संस्थापक अध्यक्ष नारायणप्रसाद पौडेल, पूर्वअध्यक्षहरू भेषराज पाण्डे, मनोज पौडेल, निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, शाखा सल्लाहकार पार्वती पाण्डे, गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जेपी पाण्डे, तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेलगायतको सहभागिता थियो।








प्रतिक्रिया