५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बोक्सीको आरोपमा कुटपिटगर्ने २ महिला दाङमा पक्राउ



दाङ ।
दाङमा बोक्सीको आरोपमा सासु कुट्ने बुहारी र बोक्सीको आरोप लगाउने महिला पक्राउ परेका छन्।
शान्तिनगर गाउँपालिका वडा नम्वर ४ पातेटाकुरा निवासी २७ बर्षीया बुहारी शोकमाया बुढामगरले माघ २८ गते दिउँसो आफ्नै सासु सैसरा बुढा मगरलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेकी थिइन।
दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले पीडितको जाहेरीको आधारमा बुहारीलाई पक्राउ गरिएको जानकारी दिए।
बुहारी पक्राउ परेपछि सोधपुछ गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ डाँडापातु निवासी ५५ बर्षीया माता भनिने विष्णु श्रेष्ठले शोकमायालाई उनकै सासु सैसरा बोक्सी लागेको भन्ने बताएको आधारमा कुटपिट गरेको भन्ने बयान दिएपछि माता भनिने श्रेष्ठलाई पनि पक्राउ गरिएको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमबहादुर शाहीले शोकमाया विरामी भएपछि माता भनिने बिष्णु कहाँ झारफुक गर्न गएको र विष्णुले घरकै सासु बोक्सी लागेको बताएपछि शोकमायाले सासुलाई घर फर्केर निर्घात कुटपीट गरेको भन्ने खुल्न आएको बताए।
दाङ देउखुरी जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताएका डिएसपी शाहीले पक्राउ परेका दुबै महिला विरुद्ध मुलुकी अपराधसंहिता अनुसार कारवाही प्रक्रिया बढाइएको जानकारी दिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ६ : ५६ बजे